वीरगञ्ज- राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी दिनमा आफ्नो पार्टी एउटा बलियो शक्तिको रुपमा स्थापित हुने दाबी गरेका छन्।
९४ प्रतिशतभन्दा बढी नागरिकहरु हिन्दू राष्ट्रको पक्षमा रहेकाले आफ्नो पार्टी आगामी दिनमा बलियो शक्तिको रुपमा स्थापित हुने थापाको तर्क छ।
स्थानीय तह निर्वाचनको तयारी भइरहँदा अध्यक्ष थापाले विगतमा आफ्नो पार्टीले लिएको हिन्दू राष्ट्र बनाउने अडानमा बहुसंख्यक जनताले ऐक्यवद्धता जनाएको उल्लेख गर्दै अब एउटा बलियो शक्ति बनेर उदाउने दाबी गरेका हुन्।
सोमबार बीरगञ्जका सञ्चारकर्मीहरुमाझ उनले जनताले मन नपराएको राजसंस्थाको अजेण्डालाई आफ्नो पार्टीले छोडेको पनि स्पष्ट पारे।
राजसंस्थाको अजेण्डालाई छाडेपछि आफ्नो पार्टीलाई नागरिक समाज, बुद्धिजीवि र आमसञ्चार माध्यामहरुले पनि सकारात्मक रुपमा लिने उनको विश्वास थियो। अध्यक्ष थापाले आफू लोकतन्त्र, हिन्दू राष्ट्र, सुशासन र समृद्धिको अजेन्डा लिएर जनतामा जाने बताए। 'आगामी दिनमा राप्रपा नेपाल लोकतन्त्र, हिन्दू राष्ट्र, सुशासन र समृद्धिको अजेन्डा बोकेर जनताको माझमा जाँदैछ। र, मलाई पूरा विश्वास छ कि ९४ प्रतिशत सनातन हिन्दू राष्ट्रप्रति आस्था राख्ने ओमकार परिवारप्रति प्रतिवद्ध भएको कारणले गर्दा आगामी दिनमा राप्रपा नेपाल एउटा बलियो शक्तिको रुपमा स्थापित हुन सक्दछ' थापाले भने।
अध्यक्ष थापाले पश्चिमा मुलुकहरुको दबाबका कारण संविधानमा हिन्दूराष्ट्र हटाएर धर्म निरपेक्षता भन्ने प्रावधान राखिएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।