काठमाडौं– सशस्त्र द्वन्द्वमा विस्तापित बाजुराको विच्छयाँ प्रहरी चौकी पुनःस्थापना गरिएको छ। ०५५ चैत्र २७ गतेदेखि विस्थापित भएको प्रहरीले चौकी २२ वर्षपछि पुनःस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बाजुराको अति विकट क्षेत्र हिमाली गाउँपालिकामा ०४९ सालमा चौकी स्थापना भएको थियो। तर, पछि सशस्त्र द्वन्द्वमा विस्थापि भएको थियो।
बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल र प्रहरी प्रमुख डीएसपी चतुर्भुज ओझासहित जनप्रतिनिधि र सरोकारवाला निकायले एक कार्यक्रमकाबीच पुनःस्थापना गरिएको चौकीकाे उद्घाटन गरेका हुन्। चौकी विस्तापित हुँदा हिमाली गाउँपालिका वडा नम्बर १, २ र ३ का नागरिकहरुले प्रहरी सेवा प्राप्त गर्न कठिनाइ भोग्दै आएका थिए।
अन्य प्रहरी इकाइबाट सेवा प्रवाह गर्न चार दिन पैदल यात्रा गरेर जानुपर्ने वाध्यता रहँदै आएको थियो। चौकी पुनःस्थापना पश्चात् सुरक्षा व्यवस्थापनमा थप सहजता हुनुका साथै सो क्षेत्रमा रहेका कस्तुरी, मृग, राष्ट्रिय पक्षी डाँफे, ओतलगायत संरक्षित वन्यजन्तुहरूको अवैध चोरी सिकारी नियन्त्रण गर्न सहज हुने विश्वास गरिएको छ।
साथै, प्रतिन्धित पाँच औले, यार्सागुम्बालगायतका जडिबुटीहरूको अवैध निकासी पैठारी रोकथाम तथा छिमेकी जिल्ला हुम्ला तथा बझाङसँग जोडिएका सिमा नाकाहरूमा हुने अपराधहरूमा समेत कमी ल्याउने विश्वास गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।