काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालका सातै प्रदेशमा नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट (नाथुम)का कलेज स्थापना गरिने बताएका छन्।
नाथुम कलेजको ४९औँ वार्षिकोत्सवका अवसरमा मन्त्री आलेले नाथुम कलेज काठमाडौमा मात्रै सीमित नराखेर अब सातै प्रदेशमा बिस्तार गर्ने गरी काम सुरु भएको बताए। ‘नाथुम कलेजमा पढ्नका लागि अब सुदूरपश्चिम, कर्णालीलगायत विकट ठाउँबाट काठमाडौँ धाउनु पर्दैन,’ उनले भने, ‘छिट्टै नै हामी सातै प्रदेशमा कलेज स्थापना गर्छौं, अब आफ्नै प्रदेशमा विद्यार्थीले पढ्न पाउनेछन्।’
मन्त्री आलेले सातै प्रदेशमा नाथुमका कलेज स्थापनाका लागि प्रयास सुरु भइसकेको र त्यहाँका कलेजका प्राचार्यसमेत तोकिसकिएको जानकारी दिए।
काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा नाथुमका सातै प्रदेशमा कलेज स्थापनाका लागि पहल सुरु भएको मन्त्री आलेको दाबी थियो।सबै प्रदेशमा काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा होटेल मेनेजमेन्ट, ट्रेनिङ कोर्स तथा ट्राभल टुरिजमका तालिम पनि सञ्चालन गरिने मन्त्री आलेले बताए।
नाथुम कलेजका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले त्रिभुवन युनिर्भसिटीका केही अव्यावहारिक शर्तका कारण नाथुमका कलेज सञ्चालन गर्न नसकेको गुनासो गरे। उनले भने, ‘हाम्रो अरु केही उद्देश्य छैन तर नाथुमका कलेज सातै प्रदेशमा सञ्चालन गर्ने र यसलाई एक्सलेन्समा लैजाने भन्ने हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।