काठमाडौं- शनिबार आक्रमणमा परी घाइते भएका संघीय सांसद् तथा जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रमोद साहले आफूलाई सर्लाहीको ईश्वरपुर नगरपालिकाका मेयरका गुण्डाले आक्रमण गरेको बताएका छन्। काठमाडौंको मेडीसिटी अस्पतालमा उपचाररत साहले धारिलो हतियार प्रयोग गरी टाउकोमा आक्रमण भएको बताएका हुन्।
'खबरदारी जुलुस लगाएर रिटर्न हुँदा सबैलाई समेट्ने गरी म पछाडि आएँ', साहले फेसबुकमा लेखेका छन्, 'त्यसैक्रममा मेयरले राखेको गुण्डा लगाएर पछाडिबाट धारिलो हतियारबाट मेरो टाउकोमा सांघातिक आक्रमण गरे। पछाडिबाट भएको यो सांघातिक आक्रमणमा स्थानीय प्रहरी मुकदर्शक भएको धेरै जसो भिडियोले प्रमाणित गरेको छ।'
उनले विवादको पनि विस्तृत विवरण लेखेका छन्। फूलजोरदेखि भेल्हीसम्मको सडक विस्तारका लागि ५०औं वर्षदेखिका घर तोडिएको र त्यसैक्रममा फूलजोर युवा क्लबको घर पनि आधा तोडिएको बताएका छन्। तर, अहिले क्लबको घर पुनः बनाउन लगाइएको उनले लेखेका छन्।
आफूले प्रशासनलाई भनेर क्लबको घर निर्माण रोक्न भनेको तर, क्लबका सदस्यहरुलाई उचालिएको उनको भनाइ छ। बारम्बार प्रशासनलाई भन्दा पनि नसुनेपछि जनताको आग्रहमा आफू खबरदारी गर्न जाँदा आक्रमणमा परेको उनको भनाइ छ।
'स्थानीय सरकार प्रमुख र प्रहरीको मिलोमतोमा गराइएको यो घटनालाई हामीले कसरी बुझ्ने? सम्प्रदायिक प्रहरी र जातीय द्वन्द्व भडकाउने स्थानीय प्रमुखले एउटा मधेसी सांसदलाई हेर्ने दृष्टिकोण कस्तो रहेको छ। यो देशमा एउटा सांसदलाई सुरक्षाको अनुभूति दिन नसकिने प्रहरीले आम जनतालाई सुशासनको अनुभूति कसरी दिन्छ?', उनले प्रश्न गरेका छन्।
ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार देवकोटा नेकपा एमालेबाट निर्वाचित हुन्।
यस्तो छ उनको फेसबुक स्टेटस :
सम्बन्धित समाचार :
जसपाका सांसद साहमाथिको आक्रमणबारे छानबिन हुन्छ: गृहमन्त्री खाण
प्रमोद साहमाथि एमालेले आक्रमण गरेको जसपाको आरोप
झडपमा जसपाका प्रमुख सचेतक प्रमोद साह घाइते
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।