जसपा नेता प्रमोद साह, फाइल तस्बिर
काठमाडौं– शनिबार बिहान सर्लाहीमा भएको झडपमा घाइते भएका जसपाका प्रमुख सचेतक प्रमोद साहलाई एमालेले आक्रमण गरेको सो पार्टीले आरोप लगाएको छ। शुक्रबार जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा एमाले कार्यकर्ताले आक्रमण गरेको उल्लेख छ।
'मिति २०७८ साल चैत्र १२ गते, बिहान सर्लाहीको ईश्वरपुर नगरपालिकामा नेकपा एमालेका कार्यकर्ताहरूले जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य एवम् जसपा, नेपाल संसदीय दलका प्रमुख सचेतक मा. प्रमोद साहलाई साङ्घातिक हमला गरी गम्भीर घाइते बनाएका छन्', विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा पार्टी कामको सिलसिलामा गृहजिल्ला पुगेका साहमाथि सुनियोजित ढंगबाट आक्रमण गरी घटना घटाइ साह लगायत दर्जनौं कार्यकर्ताहरू घाइते भएको बताइएको छ। 'निन्दनीय कार्यको जनता समाजवादी पार्टी, नेपाल घोर भर्त्सना गर्दछ। साथै नेकपा एमालेले यस्ता घृणित र अपराधिक क्रियाकलाप बन्द नगरे यसबाट उत्पन्न परिणामको जिम्मेवार स्वयं नेकपा एमाले हुनेछ', विज्ञप्तिमा भनिएको छ।
जसपाले उक्त घटनाका दोषीमाथि अविलम्ब कडाभन्दा कडा कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न नेपाल सरकारसँग माग पनि गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।