काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अब कति वर्ष सरकार चलाउँदा देश बन्छ? भन्दै प्रश्न गरेका छन्।
लिङ्देनले प्रधानमन्त्री देउवाले अबको कति समयमा देश बनाउन सक्छन् भन्ने प्रश्नको उत्तर दिन नेपाली काँग्रेसका नेताहरुलाई चुनौती समेत दिए।
शनिवार काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले भने, 'नेकपा एमाले, नेकपा माओवादी र नेपाली कांग्रेसका त्यति नै नेतालाई हामीले कति समय थपिदियो भने देश विकास हुन्छ? बडो आदारपूर्वक भनौं– शेरबहादुर देउवालाई अब कति पटक वा कति वर्ष थपदियो भने उहाँ देश बनाउन सक्षम हुनुहन्छ? कोही काँग्रेसको नेता हुनुहुन्छ शेरबहादुर देउवालाई अब ५ वर्ष दिए देश बन्छ भनेर भन्न सक्नुहुन्छ? अथवा केपी ओली, प्रचण्ड, उहाँहरुलाई कति वर्ष र कति कार्यकाल थपेपछि यो देश बन्छ ?’
आगामी निर्वाचनमा भ्रष्ट नेतालाई भोट नदिने हो भने त्यो सजाय खुकुरी र तरवार चलाएको भन्दा ठूलो हुने लिङ्देनको भनाइ छ।
३१ वर्षसम्म नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नै सरकार चलाइरहेको भन्दै अब पनि उनीहरुलाई नै जिताएर देश बन्छ भन्नु मुर्खता हुने लिङ्देनले टिप्पणी गरे। आफ्नो पार्टीले ५ वर्षमात्रै देशको नेतृत्व गर्न पाए देशको मुहार फेर्ने गरी काम गर्ने पनि लिङ्देनले दाबी गरे।
‘आउने चुनावमा जानी–जानी यस्ता भ्रष्ट नेताहरुलाई भेट नदिनुस् भन्न आएको हो। तपाईंले खुकुरी, तरवार चलाएको भन्दा ठूलो सजाय त्यही हुन्छ। गन्दा थाहा पाउन, बर्बाद भएछ। हामी सामान्य नागरिक भएर सोचौं, कुनै दलको व्यक्ति भएर होइन,' लिङ्देनले भने।
लिङ्देनले जनताको हातमा पुनः शक्ति आउन लागेको भन्दै मतरुपी शक्तिलाई उचित सदुपयोग गर्न आग्रह गरे।
काँग्रेस, एमाले र माओवादीलाई साँढेको संज्ञा दिँदै लिङ्देनले साँढेको टाँगमुनि बाल्टी थापेर दूध नआउने बताए। मूलधारमा रहेका पार्टीहरुको दिमाग बाँझो भइसकेकाले जति भोट दिएपनि उनीहरुले देश नबनाउने लिङ्देनको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।