कोलम्बो– गम्भीर आर्थिक संकटमा परेको श्रीलंकालाई चीनले आपतकालीन सहयोग स्वरुप २ हजार टन चामल उपलब्ध गराएको छ।
कोलम्बोस्थित चिनियाँ दूतावासले शुक्रबार वक्तव्य जारी गर्दै छिमेकी मुलुकको आधारभूत जिम्मेबारी स्वरुप २ हजार टन चामल उपलब्ध गराइएको जनाएको हो।
चीनले श्रीलंकालाई उपलब्ध गराएको चामलको मूल्य झण्डै २५ लाख अमेरिकी डलर पर्ने पनि वक्तव्यमा उल्लेख गरिएको छ। मुलुकमा आर्थिक संकट उत्पन्न भएपछि विद्यार्थीको परीक्षाका लागि कागज किन्न समेत नसकेको श्रीलंकाले सहयोगका लागि सबैलाई अनुरोध गरेको थियो।
श्रीलंकाको आग्रहकै आधारमा सहयोग उपलब्ध गराइएको पनि चिनियाँ दूतावासद्वारा जारी वक्तव्यमा लेखिएको छ।
कोरोना भाइरसको महामारी र त्यसपछिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न परिस्थितिका कारण श्रीलंका संकटमा परेको श्रीलंकाली अधिकारीहरूले दावी गरेका छन्।
चीन र श्रीलंकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वार्षिकोत्सव चलिरहेकाले दुई देशको सम्बन्ध निकै पुरानो भएकाले पनि चीनले सहयोग गर्ने दूतावासको भनाइ छ।
चीनले श्रीलंकालाई आफ्नो क्षमता अनुसार आर्थिक तथा सामाजिक विकासका लागि अन्य सहयोग पनि निरन्तर गर्ने जनाएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।