काठमाडौं– कलंकी–बल्खु सडकखण्डमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। शुक्रबार राति बल्खुस्थित नेकपा (एमाले)को पुरानो पार्टी कार्यालय नजिकै सवारी दुर्घटना हुँदा सुनसरी धरान घर भइ हाल ललितपुरस्थित टिकाथलि बस्ने २९ वर्षीय सन्तोष लिम्बुको उपचारको क्रममा मृत्यु भएको हो।
महानगरीय प्रहरी बृत्त कालिमाटीका अनुसार कंलकीबाट बल्खुतर्फ जाँदै गरेको बा १ प ८२७२ नम्बरको पर्यटक बोक्ने हाइसले बाटो काट्ने बटुवालाई बचाउन खोज्दा पछाडि रहेको प्र ०१०५ प ०४२० नम्बरको स्कुटर ठोकिएर लडेको थियो।
उक्त लडेको स्कुटरलाई पछाडि रहेको ना ५ ख ७५०८ नम्बरको ट्रकले किच्दा लिम्बुको उपचारको क्रममा मृत्यु भएको हो। ललितपुर महालक्ष्मीस्थान–५ का २७ वर्षीय स्कुटर चालक दिनेश थापामगरको भने बयोधा अस्पतालमा उपचार हुँदैछ।
सिराहास्थित लहान घर भएका ३० वर्षीय ट्रक चालक सिङ्गबहादुर श्रेष्ठ र मोरङस्थित विराटनगर बस्ने ५५ वर्षीय हाइस चालक देवेन्द्र थापालाई महानगरीय प्रहरी बृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।