काठमाडौं– भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा क्षेत्रमा ठूलो मात्रामा चिनियाँ सेना तैनाथ हुँदासम्म लद्दाखको अवस्था सामान्य नहुने प्रष्ट पारेका छन्।
भारतको आकस्मिक भ्रमणमा पुगेका चिनियाँ विदेशमन्त्री वाङ यीसँग तीन घण्टासम्म चलेको छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै सन् २०२० अप्रिलदेखि चिनियाँ सेना तैनाथीको कारण उत्पन्न तनाव र द्वन्द्वका कारण सम्बन्ध सामान्यमा फर्किन नसक्ने उनले बताएका हुन्।
जयशंकरले लद्दाखका केही क्षेत्रमा वार्ता अघि बढेको र केही ठाउँमा द्वन्द्व भइरहेको बताए । ‘यस अवस्थालाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि कुराकानी भएको छ’ उनले भने, ‘तर, यथास्थिति परिवर्तन गर्न एकतर्फी प्रयास मात्र हुनुहुँदैन।’
जयशंकरले पाकिस्तानमा चिनियाँ विदेशमन्त्री वाङले कश्मीरबारे दिएको अभिव्यक्तिमाथि पनि आपत्ति जनाए। उनले चिनियाँ विदेशमन्त्री वाङलाई भारतप्रति स्वतन्त्र नीति अपनाउन र आफ्नो नीतिलाई अन्य देश तथा अन्य सम्बन्धबाट प्रभावित हुन नदिन आग्रह गरेका छन्।
जयशंकर र वाङबीच नयाँ दिल्लीको हैदराबाद हाउसमा भेटवार्ता भएको थियो। जयशंकरलाई भेट्नुअघि चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई पनि भेटेका थिए। विदेशमन्त्री वाङ २४ मार्च साँझ नयाँदिल्ली पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।