बागलुङ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनमा माओवादी वामपन्थी शक्तिमा पहिलो पार्टी हुने बताएका छन्।
नेकपा माओवादी केन्द्र ढोरपाटन, निसी र तमानखोलाले शुक्रबार आयोजना गरेको राजनीतिक एवम् वैचारिक प्रशिक्षणमा मन्त्री पौडेलले आगामी निर्वाचनमा वामपन्थी शक्तिमा माओवादी पहिलो हुने दाबी गरेका हुन्।
उनले त्याग, तपस्या र जनताका लागि दुःख गरेको पार्टी माओवादीविरुद्ध प्रतिक्रियावादीहरुले भ्रम फैलाइरहेको आरोप लगाए।
'माओवादी पार्टी अब चुनाव नजित्ने ठाउँमा पुगेको भन्ने प्रचार भइरहेको छ', मन्त्री पौडेलले भने, 'देशी विदेशी शक्तिले चौतर्फी हमला गरिरहेका छन्।'
जनक्रान्तिको कार्यभार अझै बाँकी रहेको भन्दै सुशासन र समृद्धि हुँदै समाजवादको यात्रामा रहेको बताए। संविधानको प्रस्तावनामा जनताको मैलिक हकअधिकारको कुरा लेख्ने पार्टी माओवादी भएको भन्दै अहिलेका स्थापित मुद्दाको मार्गचित्रमा माओवादी भएको पौडेलको भनाइ छ।
'हामीले बलिदान, त्याग र तपस्या र आत्मबलिदान नगरेको भए अहिलेको परिर्वतन आउने थिएन', उनले भने, 'माओवादीले प्राप्त गरेका उपलब्धी जीवन्त रहन्छन्।'
ठूलो संघर्षपछि आएको संघीय लोकतान्त्रिक गणतन्त्रमा स्थानीय सरकार जनताप्रति उत्तरदायी नभएको भन्दै त्यसका लागि कार्यकर्ता सचेत हुनुपर्ने मन्त्री पौडेलको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।