काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दम्भ नदेखाउन सुझाएका छन्।
प्रचण्डले केही दिनअघि चितवन पुगेर त्यहाँका कांग्रेस नेताले गठबन्धनको विपक्षमा धारणा राखिरहेको भए पनि केन्द्रबाटै गठबन्धन हुने बताएका थिए। त्यसप्रति कोइरालाको जवाफ छ- प्रचण्डको दाबी अस्वभाविक दम्भ हो। त्यसो गर्नुहुँदैन। गठबन्धन केन्द्रमा होला। भोट त हामीले हाल्ने हो नि।
२०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले धोका दिएको कोइरालाको भनाइ छ। 'कांग्रेस यदि चितवनमा गठबन्बधन हुन्छ भने माओवादीले २०७४ मा कांग्रेसलाई धोका दिएको छ। इमानदारपूर्वक विना शर्त सहयोग गर्छौँ भन्यो भने गठबन्धनको विषयमा छलफल हुन्छ, नभए हुँदैन', उनले भने।
शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा आफूले नेपाली कांग्रेस एक्लै चुनावमा जानुपर्ने धारणा राखेको उनले बताए। 'एक्लै भिड्नुपर्छ। यदि कहीँ गठबन्धन गर्नुपर्यो भने स्थानीय स्तरबाटै त्यहाँको आवश्यकता र चाहनामा छलफल गरेर मात्रै गर्नुपर्छ। केन्द्रबाट लादिनुहुँदैन', उनको भनाइ थियो।
यतिबेला पनि कांग्रेस सिंगल लडेन भने कहिले लड्ने? भन्ने उनको प्रश्न थियो। 'नेकपा फुटेका बेला, एमाले फुटेका बेला, त्यसैले सिंगल लड्नुपर्छ भन्ने मेरो धारणा हो', उनले भने।
कोइराला २०७४ सालको स्थानीय निर्वाचनका बेला सुरुमा भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसबाट उम्मेदवार बनेका थिए। देउवाले आफ्ना उम्मेदवार कोइरालाको उम्मेदवारी निर्वाचनको १० दिनअघि फिर्ता लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।