फाइल तस्बिर।
काठमाडौं- कांग्रेस केन्द्रीय समिति सदस्य बलबहादुर केसीले चुनावमा गठबन्धन गर्नुअघि पार्टीभित्र एकता कायम राख्नुपर्ने बताएका छन्। शुक्रबारदेखि सुरु केन्द्रीय कार्यसमिति बैठक जारी रहँदा पत्रकारहरुसँग कुरा गर्दै उनले एकता नै पहिलो आवश्यकता भएको बताएका हुन्।
'मैले भन्नै पर्छ, पार्टीभित्र एकता नखोज्ने, तर पार्टीबाहिर चाहिँ गठबन्धन गर्दै हिँड्ने? पार्टीभित्रको एकता आजको आवश्यकता हो। त्यो नै पहिलो हो', उनले भने।
केसीले पार्टीभित्र एकता भएपछि कसरी निर्वाचनमा जाने भनेर सिंगो पार्टीले 'ट्याकल' गर्न सक्ने बताए। उनले त्यस्तो अवस्थामा मात्रै कांग्रेसले नेतृत्व लिन सक्ने बताए।
खण्डित कांग्रेसले नेतृत्व लिन नसक्ने उनको भनाइ छ। उनले गठबन्धन गर्ने हो भने त्यसको मुख्य उद्देश्य प्रष्ट हुनुपर्ने बताए। अनि मात्रै अरु कुरा हुने उनले बताए।
उनले महाधिवेशनपछि आफ्नो समूहले भागबण्डा नखोज्ने भनेको भए पनि सभापतिलाई एकलौटी गर्न दिने नभनेको बताए। 'भाग-अंश नलिने भन्नुको अर्थ सभापतिलाई एकलौटी गर्न दिने भनेको होइन। राजनीति भनेको 'पावर सेयरिङ' नै हो', उनले भने।
सभापति शेरबहादुर देउवाले 'पावर सेयरिङ'मा न्यायसंगत तरिका अपनाउने भन्ने आफूहरुको विश्वास भएता पनि त्यस्तो नदेखिएको उनले बताए। 'यो दुई/तीन महिनामा उहाँले गरेका निर्णयहरुले त्यो लक्षण देखिएन र उहाँ पुरानै पद्धतिबाट उहाँ अगाडि बढ्नुभयो', उनले भने।
पार्टीभित्र न्यायसंगत तरिकाले निर्णय हुनुपर्ने बताएका केसीले आफूहरुले पार्टीभित्र आन्तरिक संघर्ष र सहमतिको दुई धार लिएर अगाडि बढेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।