काठमाडौं - नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको चुनाव चिह्नको बारेमा प्रचार नभएकोमा चिन्ता व्यक्त गरेका छन्। अखिल नेपाल महिला समाजवादी संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले सूर्य चिह्न नभए पनि कुनै समस्या नहुने बताए।
‘कसैकसैले कलम चुनाव चिह्न कसैलाई थाहा छैन भन्ने गरेको सुन्छु। सानो बच्चा जन्मन वित्तिकै कलम थमाई दिन्छौं। कलम सबैले सम्झिन्छन्। बरु सूर्यमा ग्रहण लाग्छ कलममा लाग्दैन’ नेपालले भने, ‘कलम भएन भने मान्छेको भविष्य नै हुँदैन। कलमले नै सत्य कुरा ओकल्ने गर्छ, कलमले नै न्यायको पक्षपोषण गर्दछ, कलम नै चेतनाको प्रतिक हुने गर्छ। कलमले नै जागर पैदा गर्ने गर्छ।’
पार्टीको चुनाव चिह्न कलमबारे वकालत गर्दै नेपालले नयाँ समाज निर्माण गर्दै इतिहास कलमले नै कोर्ने बताए। कलमको बेग्लै महत्व र अर्थ भएकाले त्यस बारे आमजनतालाई बुझाउन नेपालले आग्रह गरे।
‘पार्टीमा कसै कसैले सूर्य नभएर हामीलाई गाह्रो भयो भन्नुहुन्छ। प्रचार पुगेन। प्रचार हामीले जति फैलाउन सक्यौ। उति राम्रो हुन्छ’ नेपालले भने, ‘माओवादीले २०६४ सालमा हसिया हथौडा चिह्नले कसरी जित्य ? जितेर देखाएकै हो। चिह्न ठूलो कुरा होइन। विचार ठूलो कुरा हो।’ आफ्नो पार्टीको विचार लिएर चुनाव प्रचारमा लाग्न नेता कार्यकर्तालाई नेपालले आग्रह गरे।
‘विचार लिए जनता कहाँ जानु पर्छ। जनतालाई बताउन सक्नुपर्छ। घरघर घर दैलो अभियान गर्ने टोल बस्तीमा पुग्ने प्रत्येक आमाबुवा,दिदीबहिनी दाजुभाइलाई बताउँदै जानुपर्छ। चुनाव चिह्नको जानकारीबाट कोही बन्चित हुँनुहुँदैन’ नेपालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।