सिन्धुपाल्चोक- मेलम्ची नगरपालिका–११ धौले पैंयुखर्कमा ‘एक घर, एक धारा’ निर्माण गरेर हस्तान्तरण गरिएको छ।
नगर प्रमुख डम्बर अर्याल, उपप्रमुख भगवती नेपाल, वडाध्यक्ष रुद्र दुलाल, सेवक नेपालका अध्यक्ष रेमन्त नाथले शुक्रबार खानेपानीको उद्घाटन गरेका हुन्। नगरपालिका र सेवक नेपालको साझेदारीमा सो गाउँमा २६ वटा धारा निमार्ण गरी स्वच्छ पानी आउन थालेको छ।
धौले पैंयुखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत निर्मित उक्त खानेपानी गाउँमा झरेपछि स्थानीयहरूको वषौंदेखिको समस्या समाधान भएको छ। नगरपालिकाको १३ लाख, सेवक नेपालको रु १० लाख १० हजार १९ र जनश्रमदानबाट चार लाख ६७ हजार ३१४ लागतमा धारा निमार्ण गरिएको सेवक नेपालका कुमार भट्टराईले जानकारी दिए।
धारा निमार्ण भई पानी आएपछि गाउँलेको दैनिकीमा सहज भएको उपभोक्ता समितिका अध्यक्ष लिलाबहादुर थापाले बताए।
उक्त बस्तीमा दलित, जनजाती, विपन्न वर्गको बसोबास छ। गाउँलेहरु यसअघि दुई घण्टाको समय लगाएर एक गाग्री पानी ल्याएर उपभोग गर्नुपर्ने अवस्थामा थिए।
घरमा नै धारा भएपछि घर गृहस्थीका काम सकेर अरु पेशा व्यवसाय गर्न समय मिलेको बिन्दा विकले खुसी व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।