फाइल तस्बिर
काठमाडौं- संयुक्त राष्ट्र शरणार्थी निकायले युक्रेनमा मानवीय सहायताको आवश्यकता तीव्र गतिमा बढिरहेको चेतावनी दिएको छ। एजेन्सीसँग सम्बद्ध म्याथ्यू साल्टमार्शले युक्रेनमा लडाइँ नरोकिए अवस्था झन् खराब हुँदै जाने बताए।
युक्रेनका ती क्षेत्रमा ठूलो संख्यामा मानिस फसेका छन्, जहाँ भीषण लडाइँ भइरहेको छ। खानेपानी जस्ता आधारभूत आवश्यकतासमेत पूरा हुन सकेको छैन। अत्यावश्यक सेवा अवरुद्ध हुँदा औषधीजस्ता अत्यावश्यक वस्तुसमेत जनतासम्म पुग्न सकेको छैन।
उनले युक्रेनमा रुसको घेराबन्दीमा फसेका दक्षिणी सहरको अवस्था निकै नाजुक रहेको र यहाँबाट आउने जानकारी चिन्ताजनक रहेको बताए।
‘सुमी र मारिउपोलजस्ता सहरहरूमा मानव अवस्था अत्यन्तै नाजुक छ। यहाँ बस्नेहरूसँग खानेकुरा छैन र धेरै ठाउँमा मानिसहरू भोकभोकै छन्। त्यहाँ पानी र औषधीसमेत छैन,’ उनले भने।
संयुक्त राष्ट्र संघले शान्ति वार्तामा नजर राखेको छ र परिस्थिति राम्रो भएपछि यी क्षेत्रहरूमा आवश्यक कुरा पठाइने साल्टमार्शले बताए।
उनले ओदेसाको प्रशासनले साढे चार लाख मानिसका लागि खाद्यान्न र औषधी माग गरेको बताए । यहाँ ठूलो संख्यामा मानिसहरू फसेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।