काठमाडौं- पश्चिमा राष्ट्रहरूले रुसविरुद्ध एकपछि अर्को प्रतिबन्ध थपिरहेको बेलामा संयुक्त राष्ट्रसंघका लागि चीनका प्रतिनिधिले रुसविरुद्ध प्रतिबन्ध लगाउनु गल्ती हुने बताएका छन्।
राष्ट्रसंघीय सुरक्षा परिषद्मा बोल्दै झाङ जुनले सुस्त गतिमा विश्वको अर्थतन्त्र राम्रो अवस्थामा फर्किरहेको बेला रुसविरुद्ध प्रतिबन्ध लगाउनु गल्ती हुने बताएका हुन्।
‘तथ्यहरूले प्रतिबन्धको प्रयोगबाट कुनै समस्या समाधान हुँदैन भन्ने प्रमाणित गरिसकेका छन्। बरु त्यसले नयाँ समस्याहरू उत्पन्न गराउँछ,’ उनले भने।
रुसविरुद्धको प्रतिबन्धले खाद्यान्न र ऊर्जा संकट बढ्ने तथा विशेषतः विकासोन्मुख राष्ट्रमा मानिसहरूको जीविकोपार्जनमा क्षति पुर्याउने उनको तर्क थियो।
‘चीन अन्तर्राष्ट्रिय समुदायजस्तै युक्रेनमा युद्धविराम हुनुपर्ने पक्षमा रहेको छ। सबै पक्षले आगोमा घिउ थप्न नभई शान्तिवार्ताका लागि थप काम गर्नेछन् भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने।
शुक्रबार मात्रै अस्ट्रेलिया र जापानले रुसमाथि थप प्रतिबन्धहरू घोषणा गरेका छन्। क्यान्बराले रुसी अर्बपति ओलेग देरिपास्का र भिक्टोर भेक्सेल्बर्ग, ११ वटा ब्याङ्क र सरकारी निकायहरूलाई प्रतिबन्ध लगाएको ।
रुसको केन्द्रीय ब्याङ्कलाई पनि उक्त सूचीमा समावेश गरेर अस्ट्रेलियाले सरकारी ऋण जारी गर्ने र प्रबन्ध गर्ने सबै सरकारी निकायलाई लक्षित गरिएको अस्ट्रेलियाका विदेशमन्त्रीले बताएका छन्।
जापानले थप १५ रुसी नागरिक र ९ संस्थालाई प्रतिबन्ध लगाएको छ। त्यसमा सरकारी स्वामित्वको अस्त्र निर्यातकर्ता रोसोबोरोनएक्सपोर्ट पनि रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।