लन्डन – साविक विजेता जर्मनी र इंग्ल्यान्ड फिफा विश्वकप फुटबल २०१८ मा छनोट भएका छन्। जर्मनीले समूह 'सी' बाट अन्तिम एक खेलअघि नै रसियाको टिकट काटेको हो।
जर्मनीले बिहीबार राति भएको खेलमा उत्तरी आयरल्यान्डलाई ३–१ ले पराजित गर्योछ। जर्मनीको जितमा सेबास्टियन रुडी, वेगने र किमिचले गोल गरे। जितपछि जर्मनीले ९ खेलबाट २७ अंक जोड्यो। १९ अंक सहित उत्तरी आयरल्यान्ड प्ले अफमा धकेलियो। समूहमा १२ अंक जोडेको चेक गणतन्त्र भने बाहिरियो।
समूह 'एफ' बाट इंग्ल्यान्डले विश्वकपमा स्थान बनायो। इंग्ल्यान्डले स्लोभेनियालाई १–० ले पराजित गर्दै एक खेल बाँकी छदा रसिया विश्वकपका लागि स्थान पक्का गरेको हो। इंग्ल्यान्डलाई ह्यारी केनले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरेर रोमान्चक जित दिलाए। यो समूहमा इंग्ल्यान्डले २३ अंक जोड्दा स्कटल्यान्डले १७, स्लोभाकियाले १५ र स्लोभेनियाले १४ अंक जोडेका छन्। तीन टिमको प्ले अफ खेल्ने सम्भावना बाँकी छ।
समूह 'ई' पोल्यान्ड छनोट नजिक पुगेको छ। पोल्यान्डले आर्मेनीयालाई ६–१ ले हरायो। पोल्यान्डको जितमा रोबर्ट लेवान्डोवस्कीले ह्याट्रिक गरे। यो समूहमा डेनमार्कले मोन्टेनेग्रोलाई १–० ले हराएर छनोट हुने आसा जीवितै राखेको छ। पोल्यान्डले अन्तिम खेलअघि २२ तथा डेनमार्कले १९ अंक जोडेका छन्।
एक वर्षपछि रसियमा हुने विश्वकपमा लागि अहिलेसम्म १० टिमले स्थान पक्का गरिसकेका छन्। आयोजक रसियासहित युरोपबाट बेल्जियम, जर्मनी र इंग्ल्यान्ड गरी चार टिम छनोट भएका छन्। एसियाबाट इरान, दक्षिण कोरिया, जापान र साउदी अरेबिया छनोट भइसकेका छन्। उत्तर अमेरिकाबाट मेक्सिको तथा दक्षिण अमेरिकाबाट ब्राजिलले विश्वकपमा स्थान बनाएका छन्।
यो पनि पढ्नुहोस् : अर्जेन्टिनालाई पेरुले बराबरीमा रोक्यो, छनोट हुने झिनो आशा बाँकी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।