काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले विमान खरिदका लागि सरकार जमानी बसेर कोषले ऋण दिएका भन्दै रोइकराइ गर्न आवश्यक नभएको बताएका छन्।
शुक्रबार नागरिक लगानी कोषको ३२औं वार्षिकोत्सवमा बोल्दै अर्थमन्त्री शर्माले नेपाल वायु सेवा निगमलाई दिएको ऋणको विषयमा रोइकराइ गर्न आवश्यक नभएको बताएका हुन्।
उनले बजारबाट पुँजी हराए र त्यसको खोजी गरिरहेको पनि बताएका छन्। ‘बजारबाट पुँजी कतै हराएको छ, त्यसको खोजी गर्दैछु। ओछ्यानमुनि त गएको छैन? कतै स्थिर भएर बसेको त छैन? म खोजी गर्दैछु,’ उनले भने।
उनले लगानीको वातावरण र पुँजी हराइरहेको बताए। प्रविधिको विकाससँगै त्यसको दुरूपयोगले क्यापिटल फ्लाइट भइरहेको उनको भनाइ छ।
अहिलेको राष्ट्रिय आवश्यकता र विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि पनि ठूलो लगानीको खाँचो रहेको उनले बताए। त्यसका लागि नागरिक लगानी कोषजस्ता संस्थाको भूमिका महत्वपुर्ण रहेको उनले बताए।
लगानी भित्र्याउन र जुटाउन विभिन्न उपायहरू अर्थमन्त्रालयले गरिरहेको भन्दै उनले विभिन्न डेभलपमेन्ट फन्ड निर्माण गरिरहेको बताए। अर्थ मन्त्रालय अभिभावक भएको भन्दै उनले आफ्नो सन्ततीलाई अभाव नहोस् र बढी पनि नहोस् भन्ने कुरामा सचेत रहेको बताए।
उनले अब पेट्रोल खपत घटाउनुपर्ने अवस्थामा सरकार रहेको पनि बताए। अर्थ मन्त्रालयमा २० प्रतिशतले इन्धनको खपत घटाउन निर्देशन दिएको भन्दै उनले अन्य निकायलाई पनि यस्तै निर्देशन दिएको बताए।
‘आयात हैन उत्पादनमा लगानी बढाउने र उत्पादन वृद्धिमार्फत आत्मनिभर्र अर्थतन्त्रको दिशामा लाग्नुपर्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।