काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि छलफल थालेको बताएका छन्।
ललितपुर उद्योग बाणिज्य संघको ५५ औं स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले व्यवसायीको मागअनुसार ब्याजदर निर्धारणका लागि आफूले पहल थालिरहेको बताए।
‘बैंकले आफुखुसी ब्याजदर निर्धारण गर्ने प्रचलन छ। अर्थतन्त्रमा असर नपर्ने गरी बैंकको ब्याजदर सिमा निर्धारण भई व्यवसायी अनुकूल हुनुपर्छ भनेर छलफल थालेको छु’ उनले भने, ‘राष्ट्र बैंकलाई उत्पादनमूलक क्षेत्रको कर्जाको बेसरेट २ प्रतिशत भन्दा बढी राख्न हुँदैन पनि भनेको छु।’
अर्थमन्त्री शर्माले चाँडै बैंक तथा बित्तिय संस्थाका प्रतिनिधिसँग थप छलफल गरी मध्यममार्गी बाटो अपनाई समस्या समाधान गर्ने विश्वास दिलाए।
त्यस्तै अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य श्रृङ्खलाका कारण मुलुकको शोधानान्तर स्थिति चिन्ताजनक अवस्थामा पुगेको बताउँदै उनले बिस्तारै सुधार भइरहेको बताए।
‘शोधानान्तर स्थितिमा सुधार हुँदैछ। हामी तरलता समस्या समाधान गर्ने दिशामा पनि अघि बढेका छौं’ उनले भने। शर्माले ४७ बस्तुको आयातमा मार्जिन लगाएपछि कूल आयात घट्न थालेको र यसले अर्थतन्त्रमा सुधार आउने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।