बेनी– म्याग्दीको रघुगंगा गाउँपालिकामा सामूहिक आलुखेती विस्तार गरिएको छ। रघुगंगाको वडा नं १ बेग, वडा नं २ भगवती, वडा नं ५ झिँ, वडा नं ६ पाखापानी र वडा नं ८ कुइनेमंगलेका कृषक समूहलाई अनुदानमा बीउ, मल र प्राविधिक सहयोगमा सामूहिक आलुखेती विस्तार गरिएको छ।
हरेक कृषक समूहले कम्तीमा २०० रोपनी जग्गामा लगाउने सम्झौतासहित पाँच ब्लक बनाएर गाउँपालिकाबाट सामूहिक आलुखेती कार्यक्रमलाई कार्यान्वयन गरिएको कृषि शाखा संयोजक सविना शर्माले जानकारी दिए। गाउँपालिकाको ३० लाख र कृषक समूहबाट ३० लाख रुपैयाँ बराबरको श्रमदानसहित ६० लाख रुपैयाँ लागत अनुमानको बजेटबाट रघुगंगामा आलुखेती लगाउने अभियान सञ्चालन गरिएको छ।
सामूहिक आलुखेतीलाई प्रभावकारी बनाउन एक ब्लकमा १२ लाखको कार्यक्रमअन्तर्गत गाउँपालिकाको ६ लाख र कृषक समूहको ६ लाखसहितको योजनाअनुसार आलु ब्लक कार्यान्वयन गरिएको कृषि शाखाले जनाएको छ।
निर्वाहमुखी कृषिका माध्यमबाट उत्पादन गर्दै आएको आलुखेतीलाई थप व्यवस्थित बनाउँदै व्यावसायिकरुपमा अघि बढाउन आलु ब्लक खेती विस्तार गरिएको कृषि शाखा संयोजक शर्माले बताए। उक्त कार्यक्रमअन्तर्गत रघुगंगा–२ रिसिन चौतारीस्थित बरखर्क कृषि समूहमा आबद्ध २४ कृषकले सामूहिक रूपमा २०० रोपनी जग्गामा आलुखेती गरेका छन्। समूहमा आबद्ध सदस्यले सामूहिक रुपमा खेती लगाएका हुन्।
गाउँमा निर्वाहमुखी खेतीमा सीमित रहेको जमिनलाई भाडामा लिएर गाउँपालिकाबाट मिनिटेलर र प्राविधिक सहयोगमा कृषक समूहको सक्रियतामा २ सय रोपनी जग्गामा आलु विस्तार गरिएको बरखर्क कृषक समूहकी कोषाध्यक्ष देवी कटुवालले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।