काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि केही माग अगाडि सारेका छन्। उनले बिहीबार टेलिफोनवार्ताका क्रममा टर्किस समकक्षी रेजेप तय्यीप एर्दोआनसमक्ष रुसका ठोस माग अगाडि सारेका हुन्। यसअघि युक्रेनी राष्ट्रपतिले आफ्ना ६ शर्त अघि सारेका थिए।
एर्दोआनका एक प्रमुख सल्लाहकार इब्राहिम कालिनका अनुसार रुसका मागहरू दुई भागमा बाँडिएका छन्। कालिनले बताएअनुसार रुसी मागहरू पूरा गर्न युक्रेनलाई धेरै गाह्रो छैन।
रुसको प्रमुख मागमा युक्रेन तटस्थ बस्नुपर्ने र उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको सदस्यताका लागि अघि बढ्न नहुने रहेको बीबीसीले उल्लेख गरेको छ।
युक्रेनमा रुसी भाषालाई संरक्षण गर्नुपर्ने र सार्वजनिक जीवनबाट नाजीवादका सबै अवशेष एवम् प्रभावको अन्त्य हुनुपर्ने माग अगाडि सारिएको छ।
त्यसैगरी, सहमतिमा पुग्नुअघि जेलेन्स्कीले पुटिनसँग साक्षात वार्ता गर्नुपर्ने जनाइएको छ। जेलेन्स्कीले पनि पुटिनसँग प्रत्यक्ष वार्ता गर्नका लागि आफू तयार रहेको पहिल्यै बताइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।