काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको शान्ति वार्ताका लागि ६ वटा शर्त अगाडि सारेका छन्। त्यसलाई युक्रेनको उच्च प्राथमिकता सूचीमा रहेका विषय भन्ने गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
उनले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै रुससँगको शान्ति वार्ताका बेला सम्बोधन हुनुपर्ने प्राथमिकताका विष्यबारे बताएका हुन्।
रूसले युद्धको अन्त्य गर्नुपर्ने कुरालाई युक्रेनले पहिलो शर्तका रूपमा राख्ने उनको भनाइ छ। त्यसैगरी सुरक्षाको सुनिश्चितता, स्वाधिनता, क्षेत्रीय भौगोलिक अखण्डताको पुनःस्थापना, देशको वास्तविक सुनिश्चितता र वास्तविक रूपमै देशको संरक्षण हुनुपर्ने कुरालाई पनि उनले प्रमुख शर्तका रूपमा राखेका छन्।
रूसले युक्रेनमा आक्रमण सुरु गरेको केही दिनपछि दुई पक्षका बीचमा वार्ता सुरु भएको थियो। पटक पटक भएको वार्ता परिणाममुखी हुन भने सकेको छैन।
पछिल्लो वार्ता गत सोमबार चौथो चरणमा भएको थियो। सो वार्ता भिडियोमार्फत भएको थियो। त्यसको दुई दिनपछि युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पुडोल्याकले रूसी राष्ट्रपतिसँग यूक्रेनी राष्ट्रपतिले नै सिधै चाडै वार्ता गर्ने सम्भावना रहेको जानकारी दिएका थिए।
गत शुक्रबार रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसी र युक्रेनी राष्ट्रपतिबीचमा वार्ता सम्भव रहेको उल्लेख गर्नुभएको थियो ।
दुवै पक्षबाट राष्ट्रपतिस्तरमा वार्ताको सम्भावना देखाइरहेका बेला यूक्रेनी राष्ट्रपति जेलेन्स्कीले छ शर्त अगाडि सारेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।