काठमाडौं– डेरी उद्योग तथा पसलहरुले दूधमा जथाभावी सोडा, चिनी, साल्टहरुको प्रयोग गरेर बिक्रि गरेको पाइएमा सरकारले कारबाही गर्ने भएको छ।
बुधबार काठमाडौंमा दुग्ध पदार्थको गुणस्तर तथा स्वच्छता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागले यस्तो बताएको हो।
उक्त अन्तक्र्रिया कार्यक्रममा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागकी महानिर्देशक डा.मतिना जोशी वैद्यले डेरी पसलहरुमा बिना लेभलका दही, पनिर लगायतका उत्पादनहरु बिक्रि वितरण भएको बताइन्।
उनले बिनालेभलका दुग्धजन्य वस्तु उत्पादन गर्दा गुणस्तरको सुनिश्चिता नदेखिने बताइन्। महानिर्देशक वैद्यले विगतमा डेरी उद्योग तथा पसलहरु जथाभावी रुपमा सोडा, चिनी, साल्टहरु प्रयोग भइरहेको पाइएकाले यस्तो खालको अवैधानिक कामहरु गरेको भेटिए कानुन अनुसार कडा कारबाही गर्ने बताइन्।
विभागले तत्कालीन रुपमा दुग्ध पदार्थको गुणस्तरको विषयमा बनेको निर्देशिका अनुसार विशेष गरेर दूध, पानी, खानेतेल लगायत दैनिक उपभोग्य वस्तुमा गुणस्तर कायम गर्नका लागि निरन्तर रुपमा विभाग लागिपरेको वैद्यले दाबी गरिन्।
महानिर्देशक वैद्यले दुग्धजन्य पदार्थमा गुणस्तर कायम गर्ने ऐन परिमार्जन गर्नुपर्ने भएकाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक राष्ट्रिय सभाबाट पास भएको उल्लेख गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।