रसुवा– रसुवागढी नाकाबाट नेपाल भित्रने चिनियाँ सामग्रीको आयात वृद्धि भएको छ। आयात बढाउन केही दिनअधि रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच सम्पन्न भर्चुअल बैठकको सहमति अनुुसार सामान आयातको परिमाण बढ्न थालेको हो।
कोभिड–१९ संक्रमणका कारण घटेको आयात वृद्धिगराई नेपाली बजारको माग आपूर्ति गराउन रसुवाका प्रमुख जिल्ला अधिकारी र सीमाक्षेत्रका चिनियाँ अधिकारीबीच बैठक भएको थियो।
दैनिक नौ कन्टेनरबाट मात्र आयात भइरहेको माल सामग्री बुधबारदेखि दैनिक १४ का दरले रसुवागढी आइपुगेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए। यो परिमाण निरन्तर रूपले अगाडि बढ्ने बताइएको छ। आयात हुने सामग्री आज बिहानै रसुवागढी पुगिसकेको सीमा सुरक्षाकर्मीले जनाएका छन्।
नेपाली व्यवसायीको माग बमोजिम आयात हुने माल सामानको तुलना गर्दै क्रमिक रूपले दैनिक २५ कन्टेनर रसुवागढी ल्याउन चिनियाँ अधिकारीले प्रतिबद्धता गरिसकेको उनले बताए।
कोरोना संक्रमणपश्चात् सामग्री आयातमा कमी हुँदा निराश बनेका कन्टेनर ढुवानी सेवाका चालक र आयात सामग्री पल्टी गर्ने मजदूरसमेत उत्साहित बनेका छन्। दैनिक १४ चिनियाँ ठूलो कन्टेनरले ल्याएका सामग्री नेपाली २८ कन्टेनरमा पल्टी हुने र ५०/६० भन्दाबढी मजदूरलेसमेत रोजगारी पाउने बताइएको छ।
विसं २०७२ को मङ्सिरदेखि केरुङबाट पल्टी गरिँदै आएको चिनियाँ सामग्री कोरोना सङ्क्रमण बढेसँगै मितेरी पुलबाट मानिस आवतजावत्समेत बन्द हुँदा चिनियाँ पक्षले एकतर्फी रूपमा रसुवागढीमै उपलब्ध गराउँदै आएको छ।
चीनबाट आयात हुने सामग्रीमा साना तथा ठूला सवारी साधन, नेपालमा सञ्चालित जलविद्युतका उपकरण, जुत्ता, चप्पल, तयारी पोसाक, इलेक्ट्रोनिक सामग्री, रोलकपडा, थर्मस, बच्चाका खेलौना, ओखर, स्याउ, लसुनलगायत रहेका छन्।
चीनबाट आयात भएका सामग्रीको मूल्यांकनबाट चालु आर्थिक वर्षको गत साउनदेखि फागुन मसान्तसम्म भन्सार शुल्कबापत ५ अर्ब १५ करोड ७७ लाख ३१ हजार राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी भरत अधिकारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।