काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले फागुपूर्णिमा (होली)को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमार्फत प्रधानमन्त्रीले होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गरेका छन्।
यही विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको उनको भनाय छ। फाल्गुन शुक्ल पूर्णिमाको दिन हिमाली एवं पहाडी जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा अबीर खेल्दै फागुपूर्णिमा मनाइन्छ।
प्रधानमन्त्री देउवाले कोभिड–१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउनसमेत आग्रह गरेका छन्।
साथै उनले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसंगति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।