काठमाडौं- भारतको आसाम सरकारले सन् १९८५ मा भएको आसाम सम्झौताको आधारमा राज्यमा अहिलेसम्म करिब १ लाख ४४ हजार अवैध विदेशी नागरिकको पहिचान भएको बताएको छ। जसमध्ये ३० हजार विदेशी नागरिकलाई देश निकाला गरिएको छ।
बुधबार विधानसभामा आसाम गणपरिषद्का विधायक रामेन्द्र नारायण कलिताको प्रश्नको जवाफ दिँदै आसाम सम्झौता कार्यान्वयन मन्त्री अतुल बोराले आसाम सम्झौताको आधारमा ३१ जनवरी २९२२ सम्म राज्यमा १ लाख ४४ हजार ७७ अवैध विदेशी नागरिकको पहिचान गरिएको बताए।
तीमध्ये ३० हजार १४ विदेशी नागरिकलाई आफ्नो मूल देश पठाइएको उनले जानकारी दिए। १५ अगस्ट १९८५ मा भारत सरकारसँग हस्ताक्षर भएको आसाम सम्झौताका शर्तअनुसार २५ मार्च १९७१ पछि आसाममा प्रवेश गरेका अवैध विदेशी नागरिकहरूलाई पहिचान गरी देश निकाला गर्ने निर्णय गरिएको थियो।
यसबाहेक मन्त्री बोराले आसामसँग जोडिएको भारत–बंगलादेश सीमामा तारबार लगाउने काम ९८.३५ प्रतिशत सकिएको बताए।
भारत–बंगलादेश सीमामा रहेको करिमगञ्ज सेक्टरमा ४.३५ किलोमिटर तारबार लगाउने काम पूरा नभएको पनि उनले बताए। आसामले बंगलादेशसँग २६७.५ किलोमिटर सीमा जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।