काठमाडौं– सरकारले युट्युबलाई नियन्त्रण गर्न नखोजेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले बताएका छन्।
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा मंगलबार नेपाल टेलिकमले गरेको डिजिटल रुपान्तरणमा उपभोक्ता विषयक अन्तर्क्रिया यामा सहभागी सचिव अर्यालले युट्युबलाई सरकारले नियन्त्रण गर्न नखोजेको स्पष्ट पारेका हुन्। सरकारले निःशुल्क रुपमा उपलब्ध हुने गुगललाई नियन्त्रण गर्न नखोजेको भन्दै सचिव अर्यालले कुनै एक पनि व्यक्तिले युट्युबमा भिडियो राख्न पाउने बताए। मिडिया भनेर दाबी गर्ने युट्युबलाई भने सरकारले नियमन गर्ने नीति लिएको उनले बताए।
अभिव्यक्ति स्वतन्त्रता र वाक स्वतन्त्रतालाई खुल्ला छोड्दा स्वतन्त्रताले अर्कोलाई असर पर्ने गरी व्यक्तिगत गोपनीयताका कुरा बाहिर ल्याउने कामलाई नियन्त्रण गर्न खोजिएको अर्यालको भनाइ छ। पैसा तिरेर जे पनि गर्न पाइन्छ? भन्दै प्रश्न सोध्न थालिएको बताउँदै सचिव अर्यालले दर्ता भएपछि कानून अनुसार चलाउनका लागि नियमन गर्र्न लागिएको बताए। अहिले अनलाइन टिभी भन्दै अफवाह फैल्याउने गरी भिडियो राख्ने भएकाले कानूनको दायरामा ल्याएर नियमन गर्ने प्रयास गरिएको उनले दाबी गरे।
नेपाल समयसापेक्ष डिजिटल प्रविधिमा कमजोर रहेको त्यस्तै सचिव अर्यालको भनाइ छ। सरकार डिजिटल प्रविधिको विकास गर्ने काममा लागि परे पनि प्रभावकारी रुपमा काम गर्न नसकेको उनको भनाइ थियो। सरकार र निजीक्षेत्र दुबैमा डिजिटल प्रविधिमा कमिकमजोरी भएकाले सुधार गर्नुपर्ने आवश्यकता रहेको अर्यालले बताए। डिजिटल प्रविधिलाई उपभोक्तामा सहज बनाउनका लागि समयसापेक्ष ऐन नै नभएको उनको भनाइ थियो। सरकार २०५३ को सञ्चार ऐनलाई पूर्णरुपमा नयाँ बनाएर संसदमा पेश गर्ने तयारीमा रहेको सचिव अर्याललको भनाइ छ।
नेपाल टेलिकमका निर्देशक अर्जुन घिमिरेले टेलिकमले उपभोक्ताको हितको लागि उपभोक्ता मैत्री डिजिटल प्रविधिमा काम गर्दै आएको बताए। टेलिकमले उपभोक्तालाई दिने सेवा सुविधाको विषयमा गुनासो सम्बोधन गर्नका लागि नयाँ प्रविधिको प्रयोग गरिहेको जानकारी दिए। घिमिरेले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा भ्वाइस र डाटा सर्भिसमा गरी दुई सय मात्रै गुनासो आएको बताए।
त्यस्तै, नेपाल राष्ट्र बैंक डिजिटल भुक्तानी विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले डिजिट प्रविधिको विषयमा अभियान नै चलाएको बताए। राष्ट्र बैंकले मात्रै नभएर बैंक तथा वित्तीय संस्थाहरुले समेत डिजिटल साक्षरता अभियान नै चलाएर उपभोक्तालाई डिजिटल शिक्षा दिने काम गरिहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।