काठमाडौं– नक्कली भ्याट बिल प्रकरणमा राजश्व अनुसन्धान विभागले सौगात इन्टरनेसनल प्रालिका तीन जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।
विभागले तीन जनाविरुद्ध राजस्व चुहावट गरेको भन्दै १६ करोड ४३ लाखभन्दा बढी रकम बिगो र जरिवाना समेत गरी असुल अपुरको माग गर्दै अदालतमा मुद्दा दायर गरेको हो।
भक्तपुरको सूर्यविनायक नगरपालिका–१० देउजागाउँ बस्ने सौगात इन्टरनेसनलका प्रोपाइटर दीपककुमार देउवा, चितवनको कालिका नगरपालिका २ घर भइ काठमाडौं सितापाइला बस्ने सञ्चालक मोहनप्रसाद भट्टराई र प्रालिका लेखापरीक्षक काठमाडौं महानगरपालिका–२१ बस्ने सुनिलमान शाक्यविरुद्ध मुद्दा दायर गरेको हो।
सौगात इन्टरनेसनलले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि विजक लिइ वित्तीय विवरणहरु तथा आय विवरण तयार गरी मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ क्रेडिट दाबी गरी तिर्नु पर्ने मूल्य अभिवृद्धि कर नतिरेको पाइएको विभागको अनुसन्धानले पुष्टि गरेको छ।
आयकरतर्फ लागत खर्च दाबी गरी आयकर समेत चुहावट गरेकाले आयकर ऐन तथा मुल्य अभिवृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको भन्दै मुद्दा दायर गरिएको विभागले जनाएको छ।
‘राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, २०५२ दफा २३(१) बमोजिम दीपककुमार देउजा र मोहनप्रसाद भट्टराईसँग बिगो असूल उपर गरी बिगोको शतप्रतिशत जरिवाना र सोही ऐनको दफा २३ को उपदफा (१) (क) बमोजिम कैद सजाय हुन र सुनिलमान शाक्यमको हकमा सोही ऐनको दफा २३ को उपदफा (३) बमोजिम मतियारलाई हुने सजाय हुन मागदावी लिइ अभियोग पत्र दायर गरिएको छ,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
विभागले ८ करोड २१ लख ७२ हजार ६४१ बिगो र सोही बराबरको जरिवानासहित १६ करोड ४३ लाख ४५ हजार २८२ मागदाबी गरेर मुद्दा दायर गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।