काठमाडौं– पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने संकेत देखिएको छ। भारतले १५ दिनमै पेट्रोलको मूल्य प्रतिलिटर २१ रुपैयाँले बढाएर पठाएपछि इन्धन झनै महंगिने भएको हो।
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट इन्धन खरिद गरी नेपालमा बेच्ने गर्दछ। आईओसीले १५ दिनको अन्तर्राष्ट्रिय मूल्यअनसार आफूले बेच्ने भाउ तय गरी निगमलाई १५–१५ दिनमा नयाँ खरिद सूची पठाउने गर्दछ।
सोहीअनुसार आईओसीले बुधबार नयाँ मूल्यसूची पठाएको हो। जसअनुसार निगमले १ लिटर पेट्रोल किन्न १ सय १० रुपैयाँ १३ पैसा तिर्नुपर्ने भएको हो। यो खरिद मूल्यमा सरकारले उठाउने ५९ रुपैयाँ ४८ पैसा तथा निगम खर्च र प्राविधिक नोक्सानी जोड्दा काठमाडौंसम्मको खरिद लागत १ सय ८२ रुपैयाँ ८१ पैसा पर्न जान्छ। यो लागत अघिल्लो महिनाको १ सय ६१ रुपैयाँ ५९ पैसाभन्दा करिब २१ रुपैयाँ बढी हो।
नयाँ मुल्यसूचीअनुसार डिजेलको खरिद लागत प्रतिलिटर २९ रुपैयाँले बढेर १ सय ६९ रुपैयाँ ४४ पैसा पुगेको छ। हाल कायम बजार मूल्य पेट्रोलको प्रतिलिटर १ सय ५० रुपैयाँ तथा डिजेलको १ सय ३३ रुपैयाँ छ। यही भाउमा बेच्दा निगमलाई भोलिदेखि पेट्रोलमा १ सय ३२ रुपैयाँ ८१ पैसा र डिजलमा ३६ रुपैयाँ ४४ पैसा घाटा हुनेछ।
अन्य खर्चबाहेक पेट्रोल १६ रुपैपाँ, डिजल २४ रुपैयाँ र हवाइ इन्धन १९ रुपैयाँ महंगो बनेर आएको छ। यता ग्यासको खरिद भाउ प्रतिसिलिन्डर १ सय ५ रुपैयाँमा महंगिएर २२ सय ४० रुपैयाँ ३४ पैसा पुगेको छ। जसअनुसार निगमलाई ६ सय ६५ रुपैयाँ घाटा हुने भनिएको छ।
नयाँ मूल्य सूचीअनुसार १५ दिनको घाटा अढाइ गुणाले बढ्ने भएको छ। तेलको भाउ नबढाए निगमलाई १५ दिनमै ५ अर्ब ३० करोड घाटा हुनेछ। अघिल्लो १५ सिनमा निगमलाई २ अर्ब १५ करोड रुपैयाँ घाटा भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।