काठमाडौं– आन्तरिक राजस्व विभागले एक महिनामा २८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। राजस्व विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा २८ अर्ब ३७ करोड ९५ लाख २८ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
विभागका अनुसार चालु आर्थिक वर्ष (२०७८/०७९)को फागुन मसान्तसम्म आयकर, भ्याट र अन्तशुल्क शीर्षकबाट २८ अर्ब ७२ करोड ५८ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो। लक्ष्य भन्दा १.२१ प्रतिशत कम राजस्व संकलन भएको छ। विभागले लक्ष्यको ९८.७९ प्रतिशत मात्र राजस्व संकलन गरेको हो।
यस अवधिमा विभागले आयकर शीर्षकमा ८ अर्ब ४२ करोड १३ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १० अर्ब २९ करोड १३ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
यसैगरी, घरबहाल कर शीर्षकमा २६ करोड ४४ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १८ करोड ७७ लाख १२ हजार रुपैयाँ संकलन भएको विभागले जनाएको छ। ब्याजबाट ९९ करोड ४८ लाख ५६ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा ७६ करोड २२ लाख ५९हजार रुपैयाँ राजस्व संकलन भएको छ।
विभागले भ्याटबाट ९ अर्ब ९८ करोड ४४ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। भ्याट शीर्षकमा ८ अर्ब ३४ करोड २५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । अन्तशुल्क शीर्षकबाट ८ अर्ब ६५ करोड ६० लाख ४० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ८ अर्ब २१ करोड २७ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्याङ्कमा उल्लेख छ।
विभागले स्वास्थ्य सेवा शीर्षकबाट ३१ करोड ४३ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। जसबाट ४७ करोड ८१ लाख २२ हजार रुपैयाँ राजस्व संकलन भएको छ । शिक्षा शीर्षकबाट भने लक्ष्यभन्दा ११६.०७ प्रतिशत राजस्व संकलन भएको विभागले जनाएको छ। शिक्षा शीर्षकबाट ९ करोड २ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १० करोड ४८ लाख ६ हजार रुपैयाँ राजस्व संकलन गरेको हो।
विभागले चालु आवको ८ महिनामा २ खर्ब ८५ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। विभागको उक्त तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ८ महिनामा २ खर्ब ८५ अर्ब १७ करोड ८० लाख २१ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।