काठमाडौं– पशुपंक्षीको आहारका रुपमा प्रयोग हुने दानाको मूल्य पछिल्लो समय बढ्दै गएको छ। जसको असरस्वरुप कुखुराको मासु र अण्डाको मूल्य समेत बढेको छ।
विगत ३–४ महिनाकै अवधिमा अण्डाको मूल्य प्रतिक्रेट ६० रुपैयाँले बढेको छ। केही समय अगाडिसम्म प्रतिक्रेट ३६० रुपैयाँ रहेको अण्डा प्रतिकेटको मूल्य अहिले ४२० रुपैयाँ पर्छ।
नेपाल दाना उत्पादक संघले कच्चा पदार्थको रुपमा प्रयोग हुने भटमासको पिना र मकैको मूल्य बढेका कारण दानाको मूल्य बढ्न गएको जनाएको छ। दानाको कच्चा पदार्थको रुपमा रहेको मकै तथा भटमासको पिनाको भन्सार महसुल १.६ प्रतिशतबाट बढाएर मकै ५ प्रतिशत तथा भटमासको पिना ९ प्रतिशसम्म पुर्याइएपछि पछिल्लो समय मूल्य बढ्दै गएको संघले जनाएको छ।
पछिल्लो गत वर्ष (२०७७ साल)को साउन यता भटमासको पिना र मकैको पिनाको मूल्य दोब्बरले बढेको संघले जनाएको छ। २०७७ साउनमा ६० रुपैयाँ प्रतिकिलो रहेको भटमासको पिना अहिले प्रतिकिलो ११५ रुपैयाँ पुगेको संघले जनाएको छ। यस्तै, गत वर्षको साउनमा २५ रुपैयाँ प्रतिकेजी रहेको मकैको मूल्य अहिले प्रतिकेजी ४७ रुपैयाँ पुगेको छ।
दाना बनाउन आवश्यक पर्ने फिड सप्लिमेन्टहरुको मूल्य २५ देखि ३० प्रतिशतले मूल्य बढेको संघले जनाएको छ।
दानाको मूल्य घटाउनका लागि भटमासको पिनामा लाग्दै आएको ९ प्रतिशत र मकैमा लाग्दै आएको ५ प्रतिशत भन्सार शुल्कलाई घटाएर पुरानै दर १.६ प्रतिशत कायम गरिनुपर्ने संघले माग गरेको छ।
विगतको समयमा बंगलादेशवाट सहज रुपमा भटमास पिना आयात भइरहेकोमा हाल भने बंगलादेशबाट भारतमा समेत निर्यात हुन थालेपछि बंललादेश सरकारले निर्यातमा रोक लगाएको छ। जसका कारण नेपालमा भटमासको पिनाको मूल्य बढेको भन्दै तत्काल नेपालका लागि निर्यात खुलाउन बंगलादेश सरकार समक्ष कूटनीतिक पहल गर्नुपर्ने संघले माग गरेको छ।
दानामा भइरहेको मूल्यवृद्धिको दीर्घकालीन समाधान खोज्न बृहत् रुपमा मकै तथा भटमास खेतीलाई प्रत्साहन गर्नुपर्ने पनि संघले जनाएको छ।
दाना उत्पादनमा आत्मनिर्भर रहेको नेपालमा करिब ११४ वटा दाना उद्योगहरु छन्। सबैमा गरी दाना उद्योगमा १ खर्बभन्दा बढीको लगानी रहेको संघले जनाएको छ। दाना उद्योगीबाट १ लाख बढी रोजगारीहरु सिर्जना भएको संघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।