काठमाडौं– काठमाडौं महानगरपालिका–३० ले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन ल्याएको छ। ज्ञानेश्वरमा सञ्चालनमा आएको उक्त केन्द्रको पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उद्घाटन गरे। मंगलबार केन्द्रको उद्घाटन गर्दै थापाले आफ्नो मरेको सपना फेरि ब्युँताउन सकेको बताएका छन्।
आफू स्वास्थ्यमन्त्री रहँदा श्रीलंका गएको र त्यतिबेला त्यहाँका स्वास्थ्यमन्त्रीले हेल्दी लाइफ क्लिनिक देखाएको थापाले स्मरण गरे।
श्रीलंकाले मानिसहरुको जीवनशैली स्वस्थकर बनाउने र प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले क्लिनिक सञ्चालन गरेको देखेपछि थापाले पनि नेपालमा सोही अनुसार शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको योजना ल्याएका थिए।
थापाको योजना अनुसार शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनको निर्देशिका पनि बनाइएका थियो। थापा स्वास्थ्यमन्त्री रहँदा नै काठमाडौं महानगरपालिकासँग सम्झौता गरी काठमाडौंको १० स्थान र बूढानीलकण्ठमा केन्द्र स्थापनाका लागि सम्झौता पनि भएको थियो।
‘सरकार परिवर्तन भएपछि स्वास्थ्य मन्त्रालय, स्थानीय तह कसैले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको विषयमा चासो दिनुभएन। म कयौं पटक स्थानीय तहमा धाएँ, तर मेरो कुरा कसैले सुनिदिनुभएन,’ थापाले भने, ‘काठमाडौं महानगर ३० का वडा अध्यक्ष र सदस्यहरु यो योजनामा पोजिटिभ भएपछि केन्द्र स्थापना गर्न सफल भइयो।’
केन्द्र संचालनका लागि चिकित्सक संघ, लगायत विशेषज्ञ चिकित्सकहरुले पनि सहयोग गरेको उनको भनाइ छ। केन्द्रले काठमाडौं महानगरको ३० नम्बर वडामा रहेका सबैलाई प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने थापाको भनाइ छ।
यस्तै, वडाबासीको स्वास्थ्यलाई ध्यानमा राख्दै सामुदायिक नर्सहरुलाई परिचालन गरी जनताको घरदैलोमा पुगेर उनीहरुको स्वास्थ्य अवस्थाबारे रिपोर्ट राख्ने पनि थापाको भनाइ छ।
उनले वडाबासीलाई स्वस्थ राख्न, रोग पहिचान गर्न तथा सामान्य रोगको पहिचानमा सहयोग गर्न उपचार तथा स्वास्थ्य परामर्श सेवा र दीर्घरोगका बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्ने बताए।
‘आधारभूत स्वास्थ्य सेवा नागरिकको हक हो तर हक लिने ठाउँ कहाँ हो त, हकको कुरा संविधानमा मात्रै छ,’ उनले भने, ‘सामान्य रगत परीक्षण गर्नुपर्दा पनि स्थानीय तहको भूमिका छैन, त्यही भूमिका निभाउने यो केन्द्र हो, यो महानगरको सर्भिस सेन्टर हो।’
केन्द्रमा सरकारले निर्धारण गरेको नि:शुल्क औषधि पनि पाइने र केन्द्रको फार्मेसीमा अन्य फार्मेसीमा भन्दा सहुलियतमा औषधि पाइने बताइएको छ।
केन्द्रमा फिजिसियन चिकित्सकसँगै जनस्वास्थ्य तथा नर्सिङ कर्मचारी सहित ९ जना कार्यरत छन्।
कार्यक्रममा काठमाडौं–३० का वडाअध्यक्ष दलबहादुर कार्कीले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्ने ५ वर्षको प्रयत्न सफल भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।