काठमाडौं- युक्रेनमा आक्रमण जारी रहेको बेला चीनसँग कुनै पनि सैन्य सहयोग नमागेको रुसले बताएको छ।
युक्रेनमा एक्लै आफ्नै विशेष सैन्य कारबाही सञ्चालन गर्ने क्षमता रहेको पनि रुसले स्पष्ट पारेको छ। रुसले युक्रेनमाथिको आक्रमणलाई ‘विशेष सैन्य अभियान’ भनेको छ।
रुसी सरकार प्रवक्ता दिमित्री पेस्कोभले चीनबाट सहयोग माग्ने प्रश्नमा स्पष्ट पार्दै युक्रेनमा रुसको विशेष सैन्य अपरेशन पूर्ण रुपमा सफल हुने पनि बताए। ‘यो पूर्ण रूपमा मूल तालिका अनुसार चलिरहेको छ,’ उनले भने।
समाचार एजेन्सी रोयटर्सका अनुसार रुसले युक्रेनको सैन्य कारबाही राष्ट्रपति भ्लादिमिर पुटिनको योजनाअनुसार नभइसकेको भन्दै अमेरिका र युरोपेली संघको टिप्पणीलाई पनि ध्यानमा राखेको जनाएको छ।
यसैबीच, रुसी प्रवक्ता पेस्कोभले रुसले युक्रेनमा आफ्नो सैन्य कारबाही यसरी सर्वसाधारणको हताहत नहुने गरी योजना बनाएको बताएका छन्। ‘यो पनि योजना थियो, सेना किएभसहित ठूलो जनसंख्या भएको ठाउँहरूमा प्रवेश गर्नु हुँदैन,’ उनले भने।
रोसिया २४ टिभीमा प्रशारण गरिएको कमेन्टरीमा प्रवक्ता पेस्कोभले सहरमा भएको युद्धले धेरैजसो नागरिकको हताहत हुने निश्चित भएको बताए।
उनले भने, ‘रक्षा मन्त्रालयले शान्तिपूर्ण जनताको अधिकतम सुरक्षा सुनिश्चित गर्नेछ। तर, यसले ठूलो जनसंख्या भएका केन्द्रहरूलाई पूर्ण नियन्त्रणमा राखिने सम्भावनालाई अस्वीकार गर्दैन। यद्यपि, ती क्षेत्रहरू अपवाद हुनेछन्, जुन मानिसहरूलाई बाहिर निकाल्न प्रयोग गरिनेछ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।