काठमाडौं– आगामी चैत ९ गतेदेखि १२ गतेसम्म चितवनमा कृषि कर्जा मेला हुने भएको छ। सोमबार आर एण्ड डी इनोभेटिभ सोलुशन प्रालि र नेपाल कृषि मेशिनरी व्यवसायी संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी चैत ९ देखि १२ गतेसम्म कृषि कर्जा मेला सञ्चालन गर्ने जानकारी दिएको हो।
मेला चितवन एक्स्पो सेन्टर, भरतपुरमा हुनेछ। कृषि तथा पशुपंक्षी मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा ५औँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुन लागेको हो।
पत्रकार सम्मेलनमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले हजारौँ नेपालीलाई विदेशबाट फर्काउने एउटै माध्यम कृषि भएको बताए। उनले कृषिमा रोजागारी सिर्जना गर्न सके नेपाली नागरिकहरुलाई स्वदेशमै बस्न सक्ने वातावरण सिर्जना हुने बताए।
त्यस्तै, नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिलकुमार शर्माले पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुले कृषि क्षेत्रलाई बढी जोड दिइरहेको बताए। उनले सरकारको चाहना पनि कृषि क्षेत्रलाई उकास्ने रहेको भन्दै उनले सहुलियत कर्जा कृषि क्षेत्रमा नै रहेको बताए।
कार्यकारी निर्देशक शर्माले वास्तविक किसानहरुले सहुलियत र बिनाधितो कर्जा कसरी पाउने भन्ने बारेमा सूचना फैलाउने काम गर्न पनि आवश्यक रहेको औँल्याए।
कार्यकारी निर्देशक शर्माले बैंकहरु कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न प्रतिवद्ध रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।