काठमाडौं- यातायात व्यवस्था विभागले मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन बन्द गर्ने भएको छ।
विभागले सोमबार एक सूचना जारी गर्दै अहिलेसम्म परेका अनलाइन आवेदनको टुंगो लगाउनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्म अनलाइन आवेदन बन्द रहने जनाएको हो।
‘हालसम्म परेका अनलाइन आवेदनहरुको कारबाही यथाशक्य चाँडो टुङ्ग्याउनुपर्ने भएकोले यही मिति २०७८ चैत्र १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मको लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ विभागले भनेको छ।
नयाँ अनुमतिपत्रका लागि परीक्षा लिने र वितरणको काम प्रदेश सरकारले गर्ने भए पनि छाप्ने काम र त्यसको अनलाइन सिस्टम विभागसँग हुन्छ। तर, कोरोना महामारी कारण लामो समय नयाँ आवेदन बन्द रहँदा अहिले सिस्टममा अत्याधिक चाप बढेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।