काठमाडौं– नुवाकोट जिल्ला आइतबारदेखि कोरोना संक्रमणमुक्त भएको छ। यसअघि संक्रमित भएर उपचार गराउँदै आएका बेलकोटगढी नगरपालिका घर भएका दुई व्यक्ति आइतबार संक्रमणबाट मुक्त भएसँगै जिल्ला पनि कोरोनामुक्त भएको हो।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं खोप अधिकृत अमृत महर्जनले जिल्लामा यसअघि संक्रमित भएका सबै निको भएको र नयाँ संक्रमित थप नभएको बताए।
कोरोनाको तेस्रो लहर जिल्लामा गत पुस २५ मा भित्रिएको थियो। भाइरस देखा परेको दुई महिनापछि नियन्त्रणमा आएको हो। जिल्लामा विसं २०७७ जेठ ११ मा ओखरपौवाका एक व्यक्तिमा भाइरसको संक्रमण देखा परेको थियो। पहिलो लहर विसं २०७७ फागुन २३ गतेदेखि संक्रमणमुक्त बनेको थियो।
यसपछि विसं २०७७ चैत २४ मा दोस्रो लहर सुरु भएर गत पुस १४ सम्म कायम थियो। यसको दश दिनपछि पुस २५ गते जिल्लामा कोरोनाको तेस्रो लहर भित्रिएको थियो। आइतबारदेखि कोरोना मुक्त भएको स्वास्थ्य कार्यालयका प्रमुख (वरिष्ठ जनस्वास्थ्य प्रशासक) महेन्द्रध्वज अधिकारीले जानकारी दिए।
जिल्लामा कोरोनाको पहिलो लहरमा एक, दोस्रो लहरमा ५१ जनाको निधन भएको थियो भने तेस्रो लहरमा मृत्युदर शून्य रह्यो।
कोरोनाको पहिलो लहरमा एक हजार १४५ सङ्क्रमित पहिचान भएकोमा दोस्रो लहरमा सात हजार २४५ र तेस्रो लहरमा ९७३ थप भएका थिए।
जिल्लामा कोरोना रोक्न त्रिशूली अस्पतालमा पीसीआर प्रयोगशाला, अक्सिजन उद्योग, भेन्टिलेटर, आइसियु र एचडियुसहित आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको थियो। जिल्लाको त्रिशूली अस्पताल, खरानीटार अस्पताल र स्थानीयतहले करिब ५०० आइसोलेसन शय्यासमेत सञ्चालनमा ल्याएका थिए। त्यो अहिले पनि कायम नै राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।