फाइल तस्बिर काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ बुटवल सडकखण्ड विस्तारको कामले गति लिन सकेको छैन। सो सडकखण्ड विस्तारको अधिकांश काम यतिखेर सकिसक्नुपर्ने अवस्था थियो।
नारायणगढ बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर रमेश दिष्टीका अनुसार आयोजनाको लक्ष्यअनुसार सडक विस्तारको काम ९० प्रतिशत सम्पन्न गर्नुपर्दथ्यो। तर, सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले जम्मा १२.४४ प्रतिशत मात्र काम सकेको उनले जानकारी दिए।
ठेकेदार कम्पनीले निर्माण आरम्भमा ढिलाइ, रुख कटान गर्नुपर्ने संख्या बढ्नु र कटान आदेश ढिलो गरी प्राप्त हुनु, कोभिडको महामारीले काम गर्न समस्या हुनु, विद्युत् लाइन सार्न समस्या हुनुलगायत कारणले विस्तारमा ढिलाइ भएको जनाइएको छ।
त्यसैगरी खानेपानी लाइन स्थानान्तरण गर्न समस्या, बर्सातको पानी निकासको समस्या, काठदाउरा हस्तान्तरणमा समस्या रहेको उनको भनाइ छ।
पछिल्लो समय सडक विस्तारको कामले केही गति लिएको उनले दाबी गरे। प्रमुख दिष्टीका अनुसार मध्यबिन्दुको चोरमारा र अरुणखोला जंगल क्षेत्रमा सडक विस्तार हुने क्षेत्रमा माटो भर्ने र पुल निर्माणको काम सुरु भएको छ। दाउन्ने पहाडको माटो कटान गर्ने काम पनि सञ्चालन भइरहको छ। सडक विस्तारका लागि मजदुरसँगै २१३ औजार उपकरण प्रयोग गरेर काम भइरहेको आयोजनाले जनाएको छ।
करिब एक घण्टामा पार गरिने नारायणगढ बुटवल सडकको पूर्वी खण्ड विस्तारको काम ढिला हुँदा पार गर्न तीन घण्टाभन्दा बढी समय लाग्ने गरेको छ। निर्माणाधीन सडकमा उड्ने धुलोका कारण स्थानीय तथा यात्रुले निकै सास्ती खेप्नुपरेको छ। करिब ६५ किलोमिटर पूर्वी खण्डमध्ये १७.६ किलोमिटर छ लेन, ४२.७ किलोमिटर चार लेन, ४.१ किलोमिटर तीन लेन (दाउन्ने खण्ड)मा विस्तार हुनेछ।
सडक विस्तार आयोजनाको म्याद आगामी साउन २२ मा सकिँदैछ । सम्झौता मितिबाट ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी सरकारले विसं २०७५ माघ २४ मा सडक विस्तारका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो। एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा विस्तार हुन लागेको सो सडकको पूर्वी खण्ड रु नौ अर्ब १३ करोडमा ठेक्का सम्झौता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।