काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्रको भयावह अवस्था हुँदा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन्।
अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच तालमेल नहुँदा अर्थतन्त्र नाजुक अवस्थामा पुगेको उनले दाबी गरे। एमालेको उद्योग विभागले आइतबार काठमाडौंमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा ओलीले देशको अर्थतन्त्रको ताजा अवस्थाबारे श्वेतपत्र जारी गर्न पनि सरकारसँग माग गरेका छन्।
‘देशको अर्थतन्त्र भयावह र नाजुक अवस्थामा छ। सरकारको ध्यान विकासतिर छैन,’ उनले भने,‘अहिलेका सरकारका मन्त्रीहरु ब्लेकमेलरका रुपमा कमिसनका लागि काम गरिरहेका छन्। देशको अर्थतन्त्रको ताजा अवस्थाबारे श्वेतपत्र जारी गरौं।’
प्रधानमन्त्री पद आकस्मिक रुपमा पाएको भन्दै त्यसलाई जोगाउन नै प्रधानमन्त्री शेरबहादुर देउवा लागेको उनले आरोपसमेत लगाए।
‘बादल लागेका दिन शेरबहादुर जीलाई आँगनमा माछा पर्यो, त्यो माछा घैलामा राख्नुभएको छ,’ उनले भने,’ उहाँलाई परमादेशबाट पारिएको माछाको चिन्ता छ। देश, जनता तथा अर्थतन्त्रको चिन्ता छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।