हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले यसअघिको प्रदेश सरकारले चाहिने काममा बजेट नछुट्याएको आरोप लगाएका छन्।
आइतबार प्रदेश सभामा सांसदहरुको प्रश्नको उत्तर दिँदै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन्। उनले सुरुङजस्तो राष्ट्रिय गौरवको योजनामा जम्मा ७५ करोडको बजेट राखेको तर, निर्माण सुरु गरेदेखि सम्पन्न गर्ने बेलासम्म झन्डै २४ अर्ब लाग्ने स्थिति रहेको बताए।
सुरुङ र सडक निर्माणका लागि विदेशी बैंकहरुले ऋण दिन इच्छुक रहेको बताउँदै तत्काल नबन्ने काममा सानो बजेट छुट्याएर बजेट फ्रिज गर्न नमिल्ने पाण्डेको भनाइ छ।
उनले चार्जिङ स्टेशन नवीकरण र सडक विद्युतीय बस चलाउन लायकको नभइकन विद्युतीय बसका लागि छुट्याइएको बजेट अन्य जनहितका काममा खर्च गरिने घोषणा गरे। मुख्यमन्त्री पाण्डेले अघिल्लो सरकारले विद्युतीय बस र सुरुङका लागि छुट्याइएको बजेट अहिलेसम्म खर्च नभएको पनि बताए।
मुख्यमन्त्री पाण्डेले मन्त्रालयलाई व्यवस्थित गर्नसके जनताको धेरै काम सहज, चाँडो हुने र सोही उद्देश्यका साथ मन्त्रालयको संख्या बढाएर १४ पुर्याएको बताए। उनले हाल १५ लाख नागरिक सवारी चालक अनुमति पत्र लिने लाइनमा रहेको र अब प्रदेश सरकारले त्यसलाई चाँडो सक्नका लागि ट्रायल सेन्टर बढाउने कार्यविधि पास गरेको बताए।
मुख्यमन्त्री पाण्डले अहिले विज्ञान र प्रविधिको समय भएको उल्लेख गर्दै सवारी साधनहरुमा क्यासलेस सिस्टमको विकास गर्न आवश्यक रहेको र सोही दिशातर्फ प्रदेश सरकारले काम गरिरहेको बताए। उनले चालक, सहचालकहरुको जागिर असुरक्षित भएको भन्दै प्रदेश सरकारले अब उनीहरुलाई पनि सम्मानित कर्मचारीको हैसियतमा रहेर काम गर्ने स्थिति बनाउन लागेको बताए।
मुख्यमन्त्री पाण्डेले यस आर्थिक वर्षमा अहिलेसम्म २० प्रतिशत बजेट मात्रै खर्च हुन सकेको भन्दै अब विकासका कार्यक्रम धमाधम सुरु हुने प्रतिवद्धता जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।