काठमाडौं- इजरायलको कृषि फार्ममा दुई वर्ष पसिना बगाएका लमजुङका सोनाम लामा अहिले गाउँमै कृषि उद्योग चलाउँछन्। वैदेशिक रोजगारकै क्रममा उनले दुई वर्ष युएईमा पनि बिताए। त्यहीँ सिकेको सिप अहिले आफ्नै देशमा लगाइरहेका छन्।
लमजुङको सुन्दरबजार उनको १६ करोडभन्दा बढी लगानीको आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी छ। ४ वर्षदेखि सुरु भएको उनको कम्पनीमा हाल १५ जनाभन्दा बढीले रोजगारी पाएका छन्। यहाँ विदेशी विद्यार्थीसमेत प्रयोगात्मक शिक्षाका लागि आउने गरेका लामाले सुनाए। 'विदेशमा भन्दा आफ्नै देशमा परिश्रम गर्दा खुसी मिलेको छ,' विदेशमा दैनिक ११ घन्टा पसिना बगाउने उनी भन्छन्।
उनको अनुभवले बताउँछ– नेपालले कृषिमा लगानी गर्ने सके कृषि क्षेत्रमा निर्भर हुनुपर्दैन।
लामाले राम्रै व्यवसाय गरिरहेका छन्। उत्पदित सामान जसोतसो स्थानीय बजारमा खपत भइरहेकै छ तर उत्पादन वृद्धि भएपछि बजार अभाव हुने हो कि भन्ने उनको चिन्ता छ। 'उत्पादित सामग्री बढ्न थालेपछि बजार नपाएर लगानी डुब्ला भन्ने डर छ,' उनी भन्छन्।
उनी अहिले अंगुर, भुइँस्याउ, भुइँकटहर जस्ता फलफूल उत्पादन गर्छन्।
वैदेशिक रोजगारबाट फर्किएर यहीँको माटोमा पसिना बगाइरहेका अर्का युवा हुन् बागलुङका देवीप्रसाद खत्री।
७ वर्षअघि कामको खोजीमा खत्री युएई पुगेका थिए। रोजगारीका लागि गएकाले जस्तोसुकै काम गर्नुपर्ने बाध्यता थियो। त्यहाँ उनले दैनिक १४ घन्टासम्म दु:ख गरे।
साढे ३ वर्ष युएईमा बिताएर फर्किएका उनी हाल अलैंची खेती गरिरहेका छन्। 'सुरुमा एक करोड लगानी गरेर दुई सय रोपनीमा खेती सुरु गरेँ,' उनले भने, 'वार्षिक १२ मन (४ सय ८० केजी) उत्पादन हुने गरेको छ।'
उनले यहाँ ७ जनालाई रोजगार दिइरहेका छन्।
'विदेश सुन्दा मात्र रमाइलो,' उनले अनुभव सुनाए, 'तर नेपालीले त्यहाँ अति कष्ट भोगिरहेको देखेँ।'
लामा र खत्री मात्र होइन वैदेशिक रोजगारबाट फर्किएका केही नेपाली युवाहरु आफ्नै ठाउँमा कुनै न कुनै उद्यम गरिरहेका छन्। तर उनीहरुलाई लगानीको डर छ। किनकि यहाँ बजार सीमित छ, अन्तर्राष्ट्रिय बजारीकरणका लागि सरकारले सहयोग नगरेको उनीहरुको गुनासो छ।
इजरायलमा एक वर्ष कृषि फार्ममा काम गरेर फर्किएका बर्दियाका रामदिपाल थारुले पनि आफै नादा एग्रो प्रोडक्सन खोलेका छन्। थारुले २ लाख लगानी गरेर फार्म सञ्चालन गरे। उनले मुख्यगरी केरा र काँक्रो खेती लगाएका छन्। तर विदेशमा जस्तो प्रविधि विकास नभएकाले ८ महिनाभन्दा बढी उत्पादन गर्न नसकिएको उनको गुनासो छ।
'इजरायलमा दैनिक १४ घन्टासम्म फार्ममा काम गर्थें,' उनले भने, 'त्यहाँ सिकेको सिपका आधारमा अहिले ६ बिघा जग्गा भाडामा लिएर कृषिकर्म गरिरहेको छु।'
वैदेशिक रोजगारीका क्रममा सिकेको सिप थोरै श्रमिकले मात्र प्रयोगमा नेपाल गर्ने गरेकाले सरकारले त्यस्ता युवाका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने उनको सुझाव छ।
१२ वर्षअघि विदेश जाँदा बर्दियाका प्रेमप्रसाद लामिछानेको त हातमा सिप नै थिएन। यही कारण साउदीमा निकै हण्डर खानुपर्यो। तर यो 'एक जुग'मा उनले धेरै कुरा सिके। त्यही सिकाइ अहिले बर्दियामा प्रयोग गरिरहेका छन्। बार्दियामा उनको प्रसिका एग्री फार्म छ। उनको फार्ममा काँक्रो, फर्सी लगायतका तरकारीजन्य कृषि सामग्री उत्पादन उत्पादन गर्छन्।
विदेशबाट फर्किएर उद्यमी बनेका लामिछाने राज्यले आफूहरु जस्ता उद्यमीलाई बेवास्ता गरेको बताउँन्। बजारको व्यवस्थापन गरे रोजगारीसँगै आफ्नो व्यवसायबाट उत्पादित सामग्री विश्व बजारसम्म पुर्याउन सकिने उनीहरुको विश्वास छ।
साउदीमा १२ वर्ष बिताउने अर्का युवा हुन् पर्वतका गणेश पुनमगर। विदेशमा सिकेको सिपका आधारमा उनले बाख्रापालन गरिरहेका छन्। 'व्यवसाय त सुरु गरियो तर, बजारमा कसरी खपत गर्ने भने चिन्ता छ,' उनले भने।
साउदीको ४५ डिग्री तापक्रममा काम गरेर नेपाल फर्किएका उनले यतै व्यवसाय सुरु गर्ने सोच बनाए। अहिले उनीसँग ३ सयभन्दा धेरै बाख्रा छन्। यसका लागि ७५ लाख लगानी गरेका छन्।
सरकारले देशभित्र आन्तरिक रोजगारीको व्यवस्थापन गर्दै अवसर सिर्जना गरे आगामी ५ वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य हुने उनको विचार छ।
खोजराज कटुवाल र हरि लुइँटेल पनि यस्ता युवा हुन्, जो विदेशमै बसिइरहन चाहेनन्। सिप बोकेर आएपछि आफ्नै माटोमा लगानी गरे।
कटुवालले काठमाडौंको कलंकीमा ५५ लाख लगानी गरेर थोपा सिँचाइ प्रालि चलाइरहेका छन्। उनले इजरायलमा सिँचाइ कम्पनीमै ६ वर्ष बिताए। त्यही अनुभवका आधारमा उनलाई काम गर्न सजिलो भएको छ। 'त्यहाँको कम्पनीमा दैनिक १५ घन्टासम्म काम गर्नुपर्थ्यो,' कटुवाल भन्छन्, 'त्यही अनुभवले कम्पनी चलाउन धेरै सहज भएको छ।'
खोटाङका लुइँटेलले भने १६ लाख लगानी गरेर कृषि फार्म र होटल सञ्चालन गरिरहेका छन्। ८ वर्ष दिनरात काम गर्दा उनले श्रमको मूल्य बुझेका थिए। त्यही प्रेरणाले खोटाङमै व्यवसाय थाले।
श्रमको सम्मान
विदेशबाट फर्केर नेपालमा व्यवसाय तथा उद्यम गर्दै आएका अर्का एकसहित यी ८ युवालाई भरखरै श्रम मन्त्रालयले सम्मान गरेको छ। रोजगारी सिर्जना, पुँजी लगानी, स्थानीय स्रोतसाधनको प्रयोग, ऊर्जा खपत र सीमान्तकृत वर्गका युवा आदि मापदण्डका आधारमा मन्त्रालयले सम्मान गर्दै आएको छ।
पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका श्रमिक स्वदेशमा उद्यमी बन्ने क्रम बढ्दै गएको छ। विदेशमा आर्जन गरेको सिपका आधारमा विभिन्न क्षेत्रमा आफ्नै लगानीमा रोजगारीबाट फर्किएका श्रमिकले स्वदेशमै रोजगार सिर्जना गरिरहेका छन्। उनीहरु कृषि, उद्योग, बाख्रापालन, कुखुरापालन लगायत अन्य क्षेत्रमा संलग्न छन्।
श्रम मन्त्रालयका अनुसार वैदेशिक रोजगारीको अन्त्य गर्ने योजनाका साथ सरकार रोजगारीसम्बन्धी गुरुयोजना ल्याउने तयारीमा छ। हाल वैदेशिक रोजगारीमा दैनिक ९ सय श्रमिक जाने गरेका छन् भने दैनिक २ देखि ३ सय नेपाल फर्किने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।