काठमाडौं– २ महिना अघिदेखि ग्राउण्डेड नेपाल वायु सेवा निगम (नेपा एयरलाइन्स)को न्यारो बडी जहाजले पुन: नियमित उडान सुरु गरेको छ।
इन्जिनमा समस्या देखिएपछि कतारको दोहामा २ महिनादेखि ग्राउण्डेड भएको न्यारो बडी ए–३२० जहाजले शनिबारदेखि उडान सुरु गरेको हो।
बिग्रिएको इन्जिनको ठाउँमा भाडामा लिइएको अर्को इन्जिन प्रयोग गरेर जहाजलाई उडानयोग्य बनाइएको हो।
ग्राउण्डेड जहाजको मर्मतपछि आजदेखि नियमित उडान सुरु गरिएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए।
२८ डिसेम्बर २०२१ को काठमाडौं–दोहा नियमित उडानमा सुरक्षित अवतरण गरेपश्चात् पार्किङ गर्ने क्रममा उक्त जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या देखिएको थियो। दोहास्थित कतार एयरवेजका इन्जिनियरले जहाज निरीक्षण गर्दा बायाँतर्फको इन्जिनमा खराबी पहिचान भएको थियो।
प्राविधिकहरुले इन्जिन फेर्नुपर्ने प्राथमिक राय दिएपछि निगम व्यवस्थापनले जहाजलाई छिटो उडानयोग्य बनाउन इन्जिन भाडामा लिएर उडाउने निर्णय गरेको थियो। इन्जिन भाडामा लिन ९ जनवरी २०२२ मा आरएफपी आह्वान गरिएको थियो।
इच्छुक कम्पनीबाट बोलपत्र आह्वान गरिएकामा छनौट भएको एमटीयू मेन्टिनेन्स लेन्स सर्भिसले इन्जिन भाडामा दिएको हो।
बिग्रिएको इन्जिन मर्मतका लागि निगमले २४ जनवरी २०२२ मा बोलपत्र आह्वान गरिसकेको छ। निगमको आन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइड बडी र दुई थान न्यारो बडी जहाज छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।