काठमाडौं– भक्तपुरमा एक महिलाको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–२ भकुण्डेबेसी स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१० थलाछेँ बस्ने ४४ वर्षीय रमेश भन्ने कुमार लामा र काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका–४ चौवास स्थायी घर भई हाल भक्तपुर नगरपालिका–८ महेश्वरी बस्ने ३८ वर्षीय नवराज रिजाल छन्।
काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–९ नवलडाँडा स्थायी घर भई हाल भक्तपुर नागपोखरी बस्दै आएकी वर्ष २८ की जेनिशा नगरकोटीको घाँटी रेटेर छातीमा चक्कुले रोपेर हत्या गरी चाँगुनारायण नगरपालिका–७ बागेश्वरीको तरकारी बारीमा रहेको टिनको टहरामा परालले छोपी राखेको अवस्थामा गत सोमबार राति फेला परेको थियो।
सो घटनाको अनुसन्धानका क्रममा प्रहरीले कुमार र नवराजलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए। हत्याको कारण लागुऔषध दुव्र्यसनी र शारीरिक सम्बन्ध भएको प्रनाउ पाण्डेले बताए। प्रहरीका अनुसार कुमार, नवराज र जेनिशा चिनजानका साथीहरु हुन्। कुमार र जेनिशा एउटै घरमा डेरा गरी बस्ने र कुमारको कोठामा आउँदा जाँदा नवराज र जेनिशाबीच पनि चिनजान बढेको पाइएको प्रनाउ पाण्डेले बताए।
जेनिशा, कुमार र नवराजबीच गत फागुन २१ गते राति शारीरिक सम्बन्धको विषयमा विवाद हुँदा जेनिशाको घाँटी रेटी छातीमा समेत चक्कुले रोपेर हत्या गरेको अनुसन्धानमा खुल्न आएको प्रनाउ पाण्डेले बताए।
हत्या आरोपमा पक्राउ परेका कुमार यसअघि पनि लागुऔषध ब्राउन सुगरलगायतको ओसारपसार र चोरी मुद्दामा करिब १० वर्ष जेल बसेर छुटेको अनुसन्धानमा खुल्न आएको प्रनाउ पाण्डेले बताए। दुवै आरोपीलाई कर्तव्य ज्यान मुद्दामा भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रनाउ पाण्डेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।