काठमाडौं- स्थानीय तहमा प्रयोग गरिने मतपत्रमा राखिने चुनाव चिह्नको रङ हरियो बनाउनुमा प्राविधिक कारण मात्रै रहेको निर्वाचन आयोगले प्रष्ट पारेको छ।
बिहीबार आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले यसअघिको अनुभवको आधारमा निर्वाचन चिह्न हरियो बनाउने निर्णय गरिएको बताए।
'आयोगले यसअघि खटिनुभएका निर्वाचन अधिकृत, निर्वाचन आयोगबाट जानुभएका अनुगमन अधिकृतहरु तथा गणनामा खटिनुभएका कर्मचारीहरु तथा विभिन्न सरोकारवालाहरुले दिएको सुझावको आधारमा हामीले पछिल्ला निर्वाचनहरुमा निर्वाचनको मतपत्रमा प्रयोग गरिएको निर्वाचन चिह्नको रङ र हाम्रो स्वस्तिक छापको रङमा भिन्नता ल्याउँछौँ भनेका थियौँ', उनले भने, 'त्यही कुरालाई मनन् गर्दै यो निर्णय गरिएको हो।'
यसअघि २०७४ सालमा प्रयोग गरेको मतपत्रमा भएका विवरण र निर्वाचन चिह्नहरुको रङ निलो थियो। स्वस्तिक छापमा प्रयोग गर्ने मसीको रङ पनि निलो नै हुनेगर्छ।
'निर्वाचन चिह्न र स्वस्तिक छापमा प्रयोग गरिने रङ एउटै पर्न जाँदा गणनामा अप्ठ्यारो भयो। हामीले स्थानीय तहको निर्वाचनमा एकपटक स्टाम्प चोपिसकेपछि सातवटा छाप हान्नुपर्छ। कतिपय मतदातालाई फेरि एकपटक चोपेर अर्को पटक चोपेर छाप हान्ने बानी नहुन सक्छ। त्यसैले पछिल्ला चिह्नहरुमा मधुरो हुँदै जाने हुन्छ', उनले भने।
निर्वाचन चिह्नको रङ अलि गाढा खालको हुने र स्वस्तिक छाप मधुरो हुँदा मत गणनामा समस्या हुने गरेको पौडेलले बताए। 'गणना सुरु गरिसकेपछि दिन र रात पूरै गन्नुपर्छ। रातको समयमा बत्तीको लाइट मधुरो हुने र गणना गर्दा स्वस्तिक छाप लागेको हो कि होइन, छुट्याउन पनि गाह्रो पर्ने हुन्छ। कतिपय स्वस्तिक छाप निर्वाचन चिह्नमा पर्यो भने, निर्वाचन चिह्नका रङ गाढा तर स्वस्तिक छापको रङ मधुरो हुँदा छाप लागेको पनि हो कि होइन, पहिचान गर्न गाह्रो भएको हुनाले मुख्यतः रङमा भिन्नता गर्ने उद्देश्य राखिएको हो', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।