काठमाडौं– नक्कली डीएसपीदेखि इन्सपेक्टर बनेर लुटपाट गर्दै आएको गिरोह पक्राउ परेका छ। काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुमा आफू प्रहरीको डीएसपी, इन्सपेक्टर भएको बताउँदै लुटपाट गर्दै आएको गिरोहलाई महानगरीय प्रहरी वृत्तको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा काठामाडौं कोटेश्वरका २६ वर्षीय रावि शाही, सिरहाको सुखनीपुर नगरपालिका–४ का २१ वर्षीय राजिव महतो, काठमाडौं–३२ का ३९ वर्षीय सन्जिव बुढाथोकी, राजु भनिने वीरेन्द्रकुमार लिम्बु छन्।
लिम्बुले आफूलाई प्रहरीको डीएसपी भएको बताउँथे भने बुढाथोकीले इन्सपेक्टर। बाँकी २ जना भने सिपाही बनेर सर्वसाधारणलाई धम्क्याउँदै कुटपिट गर्दै लुटपाट गर्ने गरेको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
पीडित एक सर्वसाधारणले नेपाल लाइभलाई बताएअनुसार यो समूहले फागुन १७ गते नरेफाँटमा खुकुरी समेत देखाएर 'प्रहरी हुँ' भन्दै धम्क्याएर लुटपाट गरेको थियो। पीडित व्यक्तिलाई समेत उनीहरुले आफ्नो स्कुटरमा राखेर बालकुमारी पुर्याएर कुटपिट गर्दै '२५ लाख दिनु, नत्र लागु औषध मुद्दामा फसाइदिन्छौं' भन्दै धम्की दिएका थिए।
त्यसपछि आफूलाई गेष्ट हाउसमा लगेर आफ्नो स्कुटरको बिल बुक र कानमा लगाएका १० हजार पर्ने सुनको मुन्द्रा समेत लुटेको पीडितको भनाइ छ ।
पीडितका अनुसार उक्त समूहका व्यक्तिले ब्रासलेट समेत लुटेर लगेका थिए। गोजीमा एटीएम कार्ड भेटिएपछि उनीहरुले एटीएम बूथमा लगेर पैसा निकाल्न समेत लगाएका थिए।
'मैले एटीएमको पासबर्ड गलत हालेँ, त्यसपछि उनीहरुले झन् कुटपिट गरे,' पीडितले नेपाल लाइभसँग भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।