काठमाडौं- १६ वर्ष अगाडीको कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा महानगरपालिका-३२ सात मुहाने बस्ने ४६ वर्षीय अशोक गुरुङ रहेका छन्।
प्रहरीका अनुसार गुरुङले २०६३ बैशाख २९ गते जिल्ला सुनसरी धरान घर भइ कास्की जिल्ला (साबिक लेखनाथ नगरपालिका- १३ सात मुहाने) स्थित खुदिखोलामा ग्याबिन जाली भर्ने (ज्याला मजदुरी गर्ने) २० वर्षीय रोजन राईलाई कुटपिट गरी सख्त घाइते बनाएका थिए।
राईको उपचारको क्रममा २०६३ जेष्ठ २ गते मृत्यु भएको थियो। उक्त घटनापश्चात् फरार रहेका गुरुङलाई पक्राउ गर्न कास्की जिल्ला अदालतबाट मिति २०७८ असेज ६ गते पक्राउ अनुमित लिइएको थियो।
त्यसयता फरार रहेका गुरुङ बहराइन पुगेको सूचना पाएपछि प्रहरीले उनलाई रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरेको थियो । इन्टरपोलबाट गत २७ मंसिरमा रेड नोटिस जारी भएको थियो । त्यसको दुई दिनपछि बहराइनमा उनी पक्राउ परेका हुन्।
प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरी टोलीले सुपुर्दगीमार्फत् उनलाई नेपाल झिकाएको हो। मंगलबार गुरुङलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।