काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशनका लागि अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष रविना थापाले उम्मेदवारी दर्ता गराएकी छन्। ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मंगलबार संघको केन्द्रीय कार्यालय बालुवाटारमा उनले उम्मेदवारी दर्ता गराएकी हुन्।
महिला सशक्तिकरणको सुरुवात आफैंबाट गर्नुपर्ने उनको भनाइ छ। त्यसका लागि महिलाले नेतृत्व लिनुपर्ने उनले बताएकी छिन्। अध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि उनले भनेकी छिन्, 'महिला सशक्तिकरणको सुरुवात हामीले आफैंबाट गरौं। महिलाले नेतृत्व लिनुको कुनै विकल्प छैन। त्यसैले म आफैंबाट सुरुवात गरेको छु। आशा छ, तपाईंहरुले साथ दिनु हुन्छ। परिवर्तनको लागि महिला, संस्थागत विकासको लागि महिला।'
उनले यसअघि नै एनआरएनमा एक लाख पाँच हजारमात्र सदस्य रहेको उल्लेख गर्दै त्यसलाई १५ लाखसम्म पुर्याउने योजना रहेको बताइसकेकी छिन्। निर्वाचनको मिति पर सारिएको विषयमा पनि उनले आपत्ति जनाएकी छिन्।
२१ र २२ मार्च हुने भनिएको निर्वाचन तालिका हेरफेर गर्दै निर्वाचन समितिले मार्च २४ र २५ तारिखमा गर्ने जनाएको छ। संघका ५१ पदाधिकारीका लागि सोमबारदेखि उम्मेदवारी दर्ता सुरु भएको छ। ११ मार्चसम्म उम्मेदवारी दर्ता समय रहेको निर्वाचन समितिले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।