गाईघाट- दशैँको समयको मौका छोपेर यातायात व्यवसायीले सवारीसाधनको छतमा समेत क्षमताभन्दा बढी यात्रु राख्ने गर्नाले सिद्धिचरण लोकमार्ग क्षेत्रमा यात्रुको ज्यान जोखिममा पार्न थालेको छ। उदयपुरको कटारी, घुर्मी हुँदै हर्कपुर भएर ओखलढुंगा तथा जयरामघाट हसेली, खोटाङसम्म सञ्चालन हुने सवारीसाधनमा अझै यो प्रवृत्ति देखिएको छ।
यस क्षेत्रमा सञ्चालन हुने साना तथा ठूला सवारीका साधनले समेत जबर्जस्ती यात्रुलाई गाडीभित्र कोच्ने र छतमाथि समेत राखेर यातायातका साधन सञ्चालन गर्न थालेपछि केही यात्रु बसको छतबाट खसेर गम्भीर घाइते भएका छन् भने कतिपयको जीवन नै जोखिममा पर्न थालेको हर्कपुरका इन्द्रनारायण श्रेष्ठ बताउँछन्। भिरालो, वन वे कच्ची सडक भएको र त्यसमा पनि गाडीभित्र र माथि छतमा समेत दोब्बर यात्रु राखेर सवारीसाधन सञ्चालन हुँदा कुनै पनि बेला दुर्घटना निम्तन सक्ने खोटाङ तुवाचुङ नगरपालिका–४ का युवराज राईले बताए।
रु पाँच सयदेखि एक हजार सवारी भाडा निर्धारण गरेको ठाउँमा अहिले रु दुई हजारभन्दा बढी सवारी भाडा तिर्नुपर्ने नत्र गाडीबाट सवारी चालकले जबर्जस्ती झारिदिने गरेको हर्कपुरकै अर्का यात्री इन्दिरा राईको गुनासो छ।
करिब एक महिनादेखि यस लोकमार्ग क्षेत्रमा यातायात व्यवसायीले मनपरि सवारी भाडा लिने र बढी यात्रु राखेर सवारीसाधन सञ्चालन गर्ने गरेको भए तापनि अहिलेसम्म सम्बन्धित निकायबाट यसको कुनै कारबाही नभएको कुरा हलेसी च्यास्मीटार उच्चमाविका एक शिक्षक बुद्धराज ढकाल बताउँछन्।
घुर्मीमा अहिले केही समयको लागि अस्थायी ट्राफिक प्रहरी पोस्ट र प्रहरी चौकी भए पनि यातायात व्यवसायीले प्रहरीको वास्तै नगरी क्षमताभन्दा बढी यात्रु बोक्ने र सवारी भाडा मनपरी लिने कार्य गरिरहेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।