काठमाडौं– साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ।
अघिल्लो साताको बुधबारदेखि ओरालो लागेको नेप्से परिसूचकमा छैंटौ दिनसम्म पनि निरन्तर गिरावट आएको हो। आइतबार नेप्से परिसूचक ३.६६ अंक घटेर २ हजार ५४३.३९ विन्दुमा झरेको छ। नेप्से घटे पनि सेन्सेटिभ इण्डेक्स १.३१ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०४ अंक घटेको छ।
आइतबार कारोबारमा आएका २३० कम्पनीको ५१ लाख ३९ हजार कित्ता सेयर २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्सेसँगै पछिल्लो समय कारोबार रकममा समेत गिरावट आइरहेको छ।
नेप्सेका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचकमा गिरावट आएको छ। जसमा विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा बढी १.२४ प्रतिशत बढेको छ।
अन्य उपसमूहको परिसूचक ०.८५ प्रतिशत, बैंकिङको ०.२ प्रतिशत र होटल उपसमूहको ०.०५ प्रतिशत बढेको छ। तर, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने सबै भन्दा बढी १.२४ प्रतिशतले गिरावट आएको छ।
नेप्से परिसूचकमा गिरावट आए पनि मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य सबैभन्दा बढी ७.८० प्रतिशत बढेको छ। त्यस्तै, सामलिङ पावर कम्पनी र नेपाल ल्यूब आयलको सेयरमूल्य ४ प्रतिशत बढेको छ। यता शिवम् सिमेन्टको सेयरमूल्य सबैभन्दा बढी ७.११ प्रतिशत घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।