ब्युनोस आयर्स : दुई पटकको विश्वविजेता अर्जेन्टिनाको फिफा विश्वकप २०१८ मा छनोट हुने सम्भावना कठिन बनेको छ। शुक्रबार बिहान भएको दक्षिण अमेरिकी छनोटको महत्वपूर्ण खेलमा पेरुसँग गोलरहित बराबरीमा रोकिएपछि अर्जेन्टिना संकटमा परेको हो। पेरुविरुद्धको खेलमा अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीको प्रहार पोलमा लागेकाे थियो।
दक्षिण अमेरिकी छनोटको अन्तिम खेल बाँकी रहदा अर्जेन्टिना अंक तालिकाको छैटौं स्थानमा झरेको छ। विश्वकपमा स्थान बनाउन शीर्ष चारमा रहनुपर्छ । पाँचौ भएको अवस्थामा अन्तरमहादेशीय प्लेअफमार्फत विश्वकपमा छनोट हुने आशा बाँकी रहन्छ।
छैटौं स्थानको अर्जेन्टिनाले २५ अंक जोडेको छ। पाँचौ स्थानको पेरुको पनि २५ अंक नै छ। चौथो स्थानको कोलम्बियाको २६ तथा तेस्रो स्थानको चिलीको पनि २६ अंक नै छ। २८ अंक जोडेर दोस्रो स्थानमा रहेको उरुग्वे छनोट नजिक छ। ३८ अंक जोडेको ब्राजिलले भने रसियाको टिकट पक्का गरिसकेको छ। २४ अंक जोडेर सातौ स्थानमा रहेको पाराग्वेको पनि विश्वकपमा छनोट हुने आसा बाँकी नै छ।
अब १० अक्टोबरमा हुने अन्तिम चरणको खेलमा दक्षिण अमेरिका छनोटको दौडमा रहेका ६ टिम मध्ये ३ सिधै छनोट हुनेछन् भने एक टिमले प्ले अफमा स्थान बनाउनेछ। २ टिमको भने विश्वकप सपना चकनाचुर हुनेछ। छनोटबाट इक्वेइडर, बोलिभिया र भेनेजुएला भने बाहिरिसकेका छन्।
यो पनि पढ्नुस्-विश्वकप छनोट: पेरुविरुद्धको खेलमा यसरी चुके मेसी [भिडियो]
शुक्रबार नै भएका अन्य खेलमा ब्राजिल र बोलिभियाले गोलरहित बराबरी खेले। उरुग्वेलाई पनि भेनेजुएलाले गोलरहित बराबरीमै रोक्यो। चिलीले इक्वेइडरलाई २–१ ले हराएर छनोट हुने अभियान बलियो बनायो। चिलीको जितमा इडुएर्डो भार्गास र एलेक्सिस सान्चेजले गोल गरे। यता कोलम्बिया भने पाराग्वेसँग २–१ ले पराजित भयो।
साबिक उपविजेता अर्जेन्टिनाका लागि अब विश्वकपमा छनोट हुने अन्तिम खेलमा इक्वेइडरलाई हराएर मात्र पुग्दैन अन्य टिमको नजितामा पनि भर पर्नुपर्नेछ। अन्तिम खेलमा ब्राजिलले तेस्रो स्थानको चिलीलाई हराए अर्जेन्टिनालाई फाइदा पुग्नेछ। यस्तै चौथो स्थानको कोलम्बिया र पाँचौ स्थानको पेरुबीचको खेलको नजिता बराबरी आए अर्जेन्टिनालाई फाइदा पुग्नेछ।
कोलम्बिया र पेरुबीचको खेलको नतिजा जितहार र चिलीको जितले अर्जेन्टिना विश्वकप छनोटबाट बाहिरिनेछ। यस्तो अवस्थामा जित निकालेको अर्जेन्टिनाले पाँचौ स्थान रहेर प्लेअफ खेल्ने सम्भावना बाँकी हुनेछ। त्यसैले अर्जेन्टिनाका लागि विश्वकपमा स्थानमा बनाउन अन्तिम खेलमा जित निकाल्नैपर्ने मात्र होइन अन्य टिमको नतिजामा भर पर्नुपर्ने कठिन समीकरण छ। अर्जेन्टिना पछिल्लो पटक सन् १९७० को विश्वकपमा छनोट हुन असफल भएको थियो। त्यसयता अर्जेन्टिना लगातार विश्कपमा सहभागी हुँदै आएको छ।
अन्तिम चरणमा ब्राजिल र चिली, इक्वेइडर र अर्जेन्टिना, पेरु र कोलम्बिया, उरुग्वे र बोलियभा तथा पाराग्वे र भेनेजुएलाबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।