काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमा सैन्य कानुन लागू गर्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन्।
राष्ट्रिय टेलिभिजनमा देखाइएको एरोफ्लट विमान सेवाका विमान परिचारिकाहरूसँगको बैठकमा रुसी राष्ट्रपति पुटिनले आफ्ना कदमहरू ‘सैन्य कारबाही लक्षित क्षेत्रमा बाह्य उक्साहटका घटनाका भरमा’ मात्र चालिने बताए।
‘हामीसँग त्यस्तो अवस्था छैन र त्यस्तो अवस्था आउने समेत छैन,’ उनले भने। यसअघि पुटिनले सैन्य कानुन लागू गर्न लागेको भन्ने हल्ला चलेको थियो।
त्यस्तो अवस्थामा सामान्य नागरिक कानुनहरू निलम्बित हुन्छन् वा सरकारी कामकारबाहीमा सैनिकहरू संलग्न हुन्छन्।
उनले ‘ठूलो आकारको बाह्य त्रास’ भएमा प्रयोग गर्न सकिने अन्य आपत्कालीन उपायहरू रहेको बताए। तर, तिनको समेत प्रयोग गर्ने कुनै योजना नभएको बताए।
उनले युक्रेनमाथि ‘नो फ्लाइ जोन’ लागू गर्ने जुनसुकै देश युक्रेन युद्धमा सहभागि भएको रूपमा हेरिने समेत बताए।
यसका साथै रुसको राष्ट्रिय विमान सेवा एरोफ्लटले ८ मार्चदेखि लगभग सबै अन्तर्राष्ट्रिय उडानहरू रद्द गर्न लागेको छ। तर, आन्तरिक र छिमेकी देश बेलारुससँगका उडानहरूमा भने त्यसको कुनै असर पर्ने छैन।
एरोफ्लटले आफ्नो सेवा अवरुद्ध गर्नुलाई ‘थप परिस्थितिहरू’ कारण रहेको जनाएको छ।
युरोपेली संघ, बेलायत, अमेरिका र क्यानडाले आफ्ना आकाशमा रुसी विमानहरू उड्न प्रतिबन्ध लगाउँदा त्यसले उपलब्ध अन्य गन्तव्य र हवाई मार्गमा असर देखा परेको छ। रुसले समेत उड्डयन क्षेत्रमा त्यस्तो जवाफी प्रतिबन्ध लगाएको छ।
अन्तर्राष्ट्रिय प्रतिबन्धहरू रुसको उड्डयन क्षेत्रमाथि समेत लक्षित छन्। जसले गर्दा एरोफ्लट र अन्य रुसी विमान कम्पनीहरूलाई सामान्य रूपमा सेवा दिन कठिन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।